आधी हुरि जे आए नि एमालेले इन्द्रावतीको १२ वटै वडामा झण्डा फहराउनुपर्छ : गोकर्ण विष्ट 

काठमाडौ । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले इन्द्रावती गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित १२ वटै वडामा नेकपा एमालेको झण्डा फहराउनु पर्ने बताउनुभएको छ । 

इन्द्रावती गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आधी हुरि जे आए पनि  इन्द्रावतीमा एमालेले नै जित्नु पर्ने बताउनुभएको हो । 

उहाँले अघिल्लो निर्वाचनमा इन्द्रावती गाउँपालिकामा एमालेको हारले धेरै पछि परेको बताउँदै  इन्द्रावती गाउँपालिकामा अबको निर्वाचनमा जितेको समाचार सुन्न पाउनेमा ढुक्क रहेको बताउनुभयो ।‘अबको निर्वाचनमा रेडियो टेलिभिजन सुनिरहेको बेला इन्द्रावतीमा एमालेले जितेको समाचार सुन्न पाउनेमा म ढुक्क छु’, उहाँले भन्नुभयो । 

उहाँले माओवादी केन्द्र र समाजवादी नाम गरेको पार्टीलाई रुखमा बेरिएको लहराको संज्ञा दिनुभयो । माओवादी र समाजवादी रुखमा बेरिएका लहरा जस्तै हुन ,लहराको कुनै अस्तित्व छैन । कुन बेला रुख ढलेपछि यीनका सबै अस्तित्व सकिन्छ,’ उहाँले भन्नुभयो । 

उहाँले अहिलेको प्रतिगामी  गठबन्धनका सरकार देशलाई पछाडि पार्नलाई बनेको बताउनुभयो । एमालेले अघि सारेको विकास निर्माणका कामलाई काङ्ग्रेसले जस लिन खोजिरहेको र यसको चिरफार एमाले कार्यकर्ताले गर्नुपर्ने बताउनुभयो । ‘काम गर्ने कालु मकै खाने भालु भने जस्तो विकास निर्माणका काम एमालेले अघि बढाउने अनि जस लिन काङ्ग्रेस अघि सर्ने  ?’ उहाँले भन्नुभयो । 

आकाशमा लाखौँ तारा छन् तर लाखौँ ताराले उज्यालो छर्न सक्दैन । तर, आकाशमा एउटै सूर्य छ जुन सुर्यले पुरै धर्ती नै उज्यालो पार्छ । हो नेकपा एमालेले गरिब जनताको बिचमा,अशक्तता बिचमा बृद्दबृद्दाका बिचमा नेपाली आम जनताका बिचमा गएर उज्यालो छरिरहेको छ,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  २ : ०४ बजे