‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गर्भे गठबन्धन : व्यवस्थाप्रति वितृष्णा जगाउने काम !

नेपालमा गणतन्त्र प्राप्ति पछिको दोस्रो स्थानीय तह निर्वाचन –२०७९ वैशाख ३० गते हुँदैछ । पार्टी जीवनको इतिहासमा सायद यो निर्वाचन धेरै पार्टीका लागि जीवन—मरणको सवाल हुन सक्ने देखिन्छ । निर्वाचन आयोगमा दर्ता भएका कैयौँ पार्टीको अस्तित्व नाश भएर जाने छ । खातापिता पार्टीहरूमध्ये एकाधका हैसियत पनि यसपालिको स्थानीय निर्वाचनले धूलीसाफ हुने देखिन्छ । 

प्रजातन्त्रको सुन्दरता भनेकै आवधिक निर्वाचन हो । लोकतान्त्रिक पार्टीहरूले निर्वाचनलाई महोत्सवका रूपमा लिने गर्छन् । आफ्नो पार्टीको नीति, सिद्धान्त, विचार, कार्यक्रमलाई जनताकाबीच लैजाने अवसरको रूपमा लिने गर्छन् । आगामी स्थानीय तहको निर्वाचनलाई परमादेश र जनादेशबीचको युद्धका रूपमा हेर्ने पार्टी पनि देशमै छ । त्यति मात्र होइन, यस निर्वाचनलाई जनमत सङ्ग्रहको रूपमा हेर्नेहरू पनि छन् । 

चुनाव मतको समुचित प्रयोग गर्ने अवसर हो । जनताले आफ्ना प्रतिनिधिहरू छनोट गर्ने अधिकार हो । चुनिने र चुन्ने व्यवस्थाको शृङ्खला हो । यतिबेला मतलाई बहिष्कार नै गरौँ भन्ने पार्टी खासै देखिएको छैन । नेकपा (विप्लव) ले समेत व्यक्तिगत स्वतन्त्रतालाई ध्यान दिएर आफ्ना इच्छुक कमरेडहरूलाई स्वतन्त्र उम्मेदवार बन्ने अधिकार दिएको विषय समाचारमा पढ्न पाइएको छ । बुलेटबाट सत्ता प्राप्त गर्ने दीर्घकालीन लक्ष्यका साथ राजनीतिमा होमिएकाहरू पनि यतिबेला ब्याटलेबाटै सरकार सञ्चालन गर्ने स्थानमा पुग्न सकिन्छ भनेर निरन्तर लागिपरेका छन् । 

निर्वाचन व्यक्तिगत स्वतन्त्रताको उच्चतम रूप हो । यसमा कसैका ह्विप लाग्दैन । सिद्धान्तले यही भन्छ । तर हाम्रो देशमा यसको प्रयोग र कार्यान्वयन कस्तो अवस्थामा छ भन्ने कुराको जानकारी गराइरहनु पर्दैन । निर्वाचनलाई कुन रूपमा लिइएको छ ? यसको प्रभाव र असर कस्तो छ ? निर्वाचनले के सन्देश दिइरहेको छ धेरैलाई गतिलै हेक्का छ । 

आवधिक निर्वाचनले आ–आफ्ना पार्टीलाई परिमार्जन वा परिष्कृत गर्ने अवसर दिन्छ । निर्वाचन जनताकाबीच आफ्नो हैसियत परीक्षण गर्ने परीक्षा समेत हो । निर्वाचनमा कसको, कस्तो नतिजा आयो भन्ने कुराले उसको पार्टीप्रति जनताको स्वीकार्यता कस्तो छ भन्ने निचोड निकाल्न सकिन्छ । निर्वाचन बाकस थाप्ने र आएको स्वस्तिकधारी मतपत्र गणना गर्ने कार्य मात्र होइन भन्ने कुरा सबैले बुझ्नुपर्छ । 

निर्वाचनमा आ–आफ्नो पार्टीको हैसियत जाँचिन्छ । नीति, सिद्धान्त, विचार, कार्यक्रमको पुनर्परीक्षण गरिन्छ । निर्वाचन भोज भतेर गरेर निर्वाचित हुने र जनतालाई उल्लू बनाउने धूर्त खेल होइन । निर्वाचनले जनताको मन जित्ने र मत बटुल्ने गर्छ । बहुदलीय व्यवस्थाको परिचय निर्वाचनमा व्यक्तिको हार वा जित होइन बरु यो त पार्टीले प्राप्त गर्ने परिणाम हो । त्यसैले पार्टीको सङ्गठन बलियो हुनु नै पार्टीले श्रेष्ठता हासिल गर्नु हो भन्ने बुझिन्छ । 

कुरो गठबन्धनकै छ । यो पनि दुई किसिमले बुझ्न सकिन्छ होला । गर्भे गठबन्धन र परिणामपछिको गठबन्धन । गर्भे गठबन्धन भन्नाले निर्वाचनमै जनतासँगै जाँदा संयुक्त घोषणा पत्र, संयुक्त उम्मेदवार, संयुक्त निर्वाचन टोलीको उपस्थिति बुझ्न सकिन्छ । प्रायः यस्तो खालको गठबन्धन नीति, सिद्धान्त, विचार, भावना र कार्यक्रम मिल्नेहरूका बीच हुने गर्छ तर यहाँ व्यवहारमा कमै देखिन्छ ।  यस्तो गठबन्धनले निर्वाचनको मोर्चा मात्र बनाउँदैन । निर्वाचनपछि पार्टीहरूलाई एकीकृत वा ध्रुवीकृत गर्नेछ । 

परिणाम पछिको गठबन्धन भन्नाले पहिला निर्वाचनमा आ–आफ्ना पार्टीहरू छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने, त्यसका लागि आ–आफ्नो घोषणा पत्र, उम्मेदवार र आफ्नो निर्वाचन टोली लिएर आफ्नो पार्टीका लागि मत माग्ने । निर्वाचनपछि प्राप्त मतका आधारमा गठबन्धन गरी सरकार सञ्चालनमा पहल गर्ने भन्ने बुझ्न सकिन्छ । स्थानीय सरकार सञ्चालनमा यस्तो खालको गठबन्धनको खासै अर्थ हुँदैन । एकाध रूपमा गाउँ वा नगर कार्यपालिकामा अल्पमतमा रहेका पार्टीहरूले बहुमत पुर्‍याउनका लागि यस्तो खालको गठबन्धन काम लाग्न सक्ने छ । 

यसपालिको स्थानीय तहको निर्वाचनमा गर्भे गठबन्धन हुने प्रबल सम्भावना लुकाएर लुक्दैन । तर, यस्तो खालको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई स्वतन्त्र तरिकाले मतदाताले मत जाहेर गर्न पाउने छन् ? सक्लान् ? आफ्नो मताधिकारको सर्वोच्चत्तम प्रयोग सम्भव रहला ? आफूले इच्छाएको सक्षम एवम् दक्ष उम्मेदवारलाई मत दिने अधिकारको प्रयोग हुन सक्ला ? गर्भे गठबन्धनको आधारमा दिइने मत करकाप, डर, त्रास, देखासिकीको हुने छ । पार्टी प्रतिको इमानदारिताको नाममा मताधिकारलाई कुण्ठित गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना हुने देखिन्छ । 

गर्भे गठबन्धनले कुन पार्टीको आफ्नो हैसियत के छ ? आफूलाई कहाँनेर परिमार्जन र परिष्कृत गर्नुपर्ने हो भन्ने पृष्ठपोषण प्राप्त गर्न असम्भव हुने देखिन्छ । गठबन्धन टुटेको अवस्थामा वा सरकार सञ्चालनको क्रममा देखा परेका कमीकमजोरीका भागीदारसँगै हुनुपर्ने बाध्यकारी अवस्था आइपर्छ । 

आफ्नै पार्टीका नेता, कार्यकर्ता र मतदाताहरूलाई गर्भे गठबन्धनका कारण पार्टीका नीति, सिद्धान्त, विचार र कार्यक्रमप्रति उदासीन बनाउनुपर्ने कलुषित भावनाको विकास गर्नेछ । जसका कारण पार्टीहरूप्रति नेता, कार्यकर्ताहरू कुनै बेला उदेक लाग्दा बन्नेछन् । निष्ठाविहीन नेता, कार्यकर्ताका रूपमा परिभाषित हुने छन् । जसलाई राजनीतिको मूलधारमा पुनः फर्काउन पार्टीहरूलाई मुस्किल पर्नेछ । 

लोकतन्त्र र पार्टी प्रतिको विश्वसनीयता लोप भएर जाने छ । यस्तो गठबन्धनले व्यवस्थाप्रति नै घृणा पैदा गर्न सक्ने देखिन्छ । निर्वाचनमार्फत आफ्नो तागत परीक्षण गर्ने अवसर प्राप्त हुने भएकाले त्यतातिर पार्टीहरूले ध्यान दिए कसो होला !? 

(लेखक बुटवल उपमहानगरपालिकाको ‘भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठान’का सचिव हुनुहुन्छ ।) 

 

 

 

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १० : ५५ बजे