प्रधानमन्त्रीजी चुनावको बेला किन भारत जानु भयो, आएपछि सोध्नुपर्ला : केपी ओली 

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाउनुभएको छ । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उहाँले नेपाल फर्किएपछि सोध्ने बताउनुभयो। 

अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो,‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’

आफुले दैनिक चारवटा कार्यक्रममा भ्याउने गरेको बताउँदै ओलीले युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । ‘युवाहरूले मेरोभन्दा बढी सक्रिय हुनुपर्छ । एमालेलाई बलियो पार्टी बनाउनुपर्ने अब युवाहरूको हातमा छ,’ओलीले भन्नुभयो । 

एमालेको हरुवा बानी नभएको उहाँको भनाइ छ ।‘एमालेले हार्न कहिल्यै जानेको छैन । हाम्रो हरुवा बानी होइन् । हामी जितेर देश बनाउँछौं,’ ओलीले भन्नुभयो । 

सामाजिक अभियान्ताको जागरण ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।‘हामीले सामाजिक अभियान्ताको जागरणका रूपमा काम गर्नुपर्छ । व्यक्ति व्यक्तिका बीचमा गएर हरेक क्षेत्रमा एड्भान्सपन ल्याउनुपर्छ । वैज्ञानिक चेत हामीले फैलाउनुपर्छ,’ओलीले भन्नुभयो ।

माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पुर्‍याउने छुट अब कसैलाई नरहेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : ३१ बजे