दिल्लीमा देउवालाई राज्यमन्त्री भट्टले गरे स्वागत

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका सिलसिलामा नयाँ दिल्ली आइपुगेका छन्। देउवालाई इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्री अजय भट्ट्ले स्वागत गरेका छन्।

प्रधानमन्त्री देउवा ३१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा आएका हुन्। 

देउवाले विदेशमन्त्री एस जयशंकरबाट भेटघाट सुरु गर्नेछन्। होटल आइटीसी मौर्यमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसलगत्तै भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी अड्डाको निमन्त्रणा स्वीकार गर्दै देउवा भाजपा मुख्यालय दिनदयाल उपाध्याय मार्ग पुग्नेछ। देउवालाई भाजपाले स्वागत तथा सम्मान गर्ने कार्यक्रम छ। 

आजै साँझ ७ बजे नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा देउवा सरिक हुनेछन्। भोलि देउवाले समकक्षी नरेन्द्र मोदीसँग शिष्टाचार तथा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि दिउँसो भारतीय मल्टिनेसनल कम्पनीका सीइओहरुसँग वार्ता गर्ने देउवाले साँझ उपराष्ट्रपति वैंकटेश नायडुसँग शिष्टाचार भेट गर्नेछन्।

आइतबार विहान देउवा बनारस जाने कार्यक्रम छ। बनारसमा देउवाले काशी विश्वनाथको दर्शनलगायत धार्मिक भ्रमण गर्नेछन्। देउवाको सम्मानमा योगी आदित्यनाथले दिवाभोज आयोजना गरेका छन्। उनी त्यहीँ दिन साँझ दिल्ली हुँदै काठमाडौं फर्किनेछन्। 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : ०८ बजे