नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको भन्दै रक्षा गर्नुपर्ने बताउनुभएको छ । 

शुक्रबार एमालेनिकट जनसांस्कृतिक महासंघको आठौं महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले कुनै देश बिगार्नु छ भने त्यस देशको संस्कृतिमाथि आक्रमण हुने भन्दै अहिले नेपालको संस्कृतिमाथि हमला भइरहेकाले रक्षा गर्नुपर्ने बताउनुभयो । 

‘कुनै देश बिगार्नु छ भने त्यसको संस्कृति बिगारे हुन्छ । हामीहरूमाथि सांस्कृतिक हमला भइरहेको छ । त्यो हमलालाई परास्त गर्न र हाम्रो संस्कृतिलाई जीवित राख्न आवश्यक छ,’ ओलीको भनाई थियो ।  

राष्ट्रियता बचाउन र लोकतन्त्र प्राप्त गर्ने माध्यम संस्कृति रहेको भन्दै उहाँले नेपालको सभ्यता निकै पुरानो रहेको बताउनुभयो । 

‘हाम्रो सभ्यता धेरै अगाडि देखिको हो । यो सभ्यता डमरु बजाएर सुरु भएको छ । त्रिशुल बोकेर नाचेर सुरु भएको सभ्यता छ । यो सभ्यता शिव नाट्यबाट सुरु भएको छ । यो सभ्यता शैव दर्शन, सांख्य दर्शनबाट सुरु भएको छ,’ ओलीले भने, यो सभ्यता यहीँबाट सुरु भएको छ भने शिव यहीँका थिए । सांख्य दर्शनका प्रणेता कपिल मुनी पनि यहीँका थिए ।’ 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : २४ बजे