‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

समाज, राज्य, पार्टीहरू र निर्वाचन …

यति बेला स्थानीय तहमा निर्वाचनको चर्चा चुलिएको छ ।  साना—ठुला सबै पार्टीहरू निर्वाचनमा होमिएका छन् । निर्वाचनका लागि २०७९ सालको पहिलो महिना वैशाख ३० गते मिति घोषित छ ।

परमादेशका गठबन्धनेहरू जनादेशका विरुद्ध निरन्तर लागेका छन् । अहिलेको निर्वाचनले आउने सङ्घीय निर्वाचनमा को अघि आउने भन्ने कुराको साङ्केतिक जनमतको रूपमा यसलाई प्रचार गरिँदै छ । मूलतः नेपाल दुई दलीय प्रतिस्पर्धातिर जाने देखिँदै छ ।

यो प्रतिस्पर्धा नेकपा तीन भागमा र एमाले दुई भागमा विभाजित हुँदा पनि ठुलो पार्टी एमालेका केपी ओली र गठबन्धनले थामिएको काँग्रेसका शेरबहादुर देउवा बीच नै हुने अघि पछि हुने पक्का पक्की छ । दक्षिणपन्थी खेमाले देउवा र वाम खेमाले केपी ओलीलाई मतदान गर्नेमा नै यो निर्वाचन केन्द्रित हुने देखिएको छ ।

मानिसहरू जङ्गली युगदेखि जीवन धान्न एउटा झुन्डमा रहँदै समाज बनेको हो । हामीले समाज प्रारम्भको तिथि मिति आज खोजेर पाउँदैनौँ । त्यसका लागि आगोको खोजी अघि पुग्नुपर्छ । लिपि र त्यसको ध्वनि पहिचान अर्थात् नामकरण चित्रका माध्यमबाट भएको कुरा खोजकर्ताहरूले  भनेका छन् ।

हाम्रा अक्षर वा अङ्कमा त्यसको प्रभाव देखिन्छ । हामी मानिसहरू कतै  घुमन्ते र कतै बढी रैथाने पाइन्छौँ । रैथाने भनिनेहरू सानो घेरामा सर्थे भने यायावरीहरू ठुलो दूरीसम्म पुगेर आफ्नो प्रभाव विस्तार गर्थे । परन्तु समाज सबैको हुन्थ्यो । प्रकृतिले अहिंसकहरू बढी सामाजिक भएको जनावर र अन्य जीवहरूको हुलमा बस्ने कुराले देखाउँछ ।

सबै जीव र मानिस समेतको उत्पत्तिमा जल र जमिनको मूल आधार रहेको सर्वमान्य धारणा पाइन्छ । मानिस अरू जनावरसँग क्रमशः अलग हुँदै आएको हो । मानिसमा खोजी गर्ने र त्यसको जानकारी सन्तानलाई सार्ने जिज्ञासाले उसलाई आजको वैज्ञानिक युगमा ल्याउन सम्भव भएको हो ।

समाज हाम्रो सृष्टिदेखिको संस्कार हो । हामी सामाजिक हुनु आवश्यकता र व्यवस्थामा निर्भर रहनाले हो । समाजबाट जोगी पनि भिन्दै जोगिएर गुजारा गर्न सक्दैन । बडे बडे घरबार त्यागेको तपस्वीको उद्देश्य पनि समाज लक्षित रहेको हुन्छ ।

समाज कहिले व्यापक र कहिले सङ्कीर्ण बनेको पाइन्छ । समाजलाई एकजुट बनाउने विचारले हो । विचार–विचारका बीचमा अन्तर घुलन हुन पाएन भने समाज साम्प्रदायिक दिशातिर बरालिन थाल्छ । समाजमा अराजकता र बेमेलका दुर्गन्ध बढ्न थाल्छ । एउटै समाज पनि छिन्न भिन्न हुन थाल्छ ।  आर्य समुदायमा  पर्नेहरू कोही ब्राह्मण समाज, कोही क्षेत्री समाज, कोही दलित समाज भएर बिथोलिएको देख्न पाइन्छ ।

सिङ्गो समाज कतिपय समयमा एकजुट हुने गर्छ । जस्तो चुच्चे नक्सालाई संविधानको अङ्ग बनाउन नेपाल एउटै समाजमा फेरिएको थियो । हामी जातीय, धार्मिक, क्षेत्रीय सबै खाले संकीर्णताभन्दा माथि उठेका थियौँ ।

यही समाजको सम्प्रभुता राज्य हो । राज्य समाजका सबैको साझा हो । सबै नागरिकप्रति राज्यको बराबरी दायित्व हुन्छ । राज्यमा समाजका धेरै विचार प्रवृत्तिहरू समेटिन्छन् । राज्य हाम्रा पुर्खाले निर्माण गरेर हामीलाई दिएको नासो हो । हामीले सन्तानलाई हस्तान्तरण गर्दा अझै समृद्ध बनाउने हाम्रो दायित्व हुन्छ ।  राज्यलाई आइपर्दा सबै नागरिक एक ठाउँमा उभिनु पर्छ । हाम्रो स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा भनेकै हाम्रो सार्वभौम सत्ता हो । यसमा कसैको हस्तक्षेप वा दखल हामीलाई मान्य हुँदैन । 

राज्य सञ्चालन गर्न हामीले वर्तमानमा लोकतान्त्रिक गणतान्त्रिक राजनीतिक प्रणाली कायम गरेका छौँ । राज्यमा नागरिक मतदाताले आफ्ना प्रतिनिधि मार्फत जनादेश प्राप्त गरेको पार्टीले पाँच वर्ष सम्मलाई  राज्य सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ ।

नागरिक मतदाताहरू आफै स्वतन्त्र उम्मेदवार हुन वा पार्टीले उठाएका उम्मेदवार मार्फत राज्य सञ्चालनमा सहभागिताको हक रहेको छ । जनताको मत प्राप्तिको आधारमा पार्टीको हैसियत बन्छ । उनी पुन जनतामा जाने र आफूलाई सशक्त बनाउने गर्दछन् । 

पार्टी समाजका हिस्सा हुन । कुन हिस्साले बहुमत ल्याउँछ, उसलाई पाँच वर्ष सरकार चलाउने अधिकार छ । समाज पार्टीहरू उनीहरूका घोषित दर्शन, नीतिमा चलुन् भन्ने चाहन्छ । उनीहरूको चिन्न सकिने पहिचान होस् भन्ने चाहन्छ । विचारले चल्ने नैतिकवान् पार्टी होउन् भन्ने चाहन्छ । 

नेपाल भूराजनीतिको चपेटामा पर्दै आएको छ । यसलाई सधैँ अस्थिर बनाइरहन भित्री—बाहिरी तत्त्वहरू निरन्तर लागेको हामीले भोगेका छौँ । हाम्रो विदेश नीतिमा एकरूपता नहुने सरकारैपिच्छे बदलिने जस्ता नकारात्मक प्रवृत्ति हाबी छ । कुनै पार्टीलाई पूरा अवधि चल्न नदिन  अन्तर पार्टी कलह गराएर आएको अवस्था छ । हिजो पनि थियो आज पनि छ । पार्टी निर्माणमै नेपालमा समस्या रहेको छ । कति शुद्ध पार्टीको नाममा खिइने गरेका छन् भने ठुला पार्टी भनिनेहरू असल विचारका पार्टी निर्माणबाट विमुख भएका छन् । भोट बैङ्कको नाममा पार्टीमा रोग प्रवेश गराउने काम भएको छ । प्रवेश भएकालाई आफ्नो पार्टीका विचार, नीति, सिद्धान्तमा प्रशिक्षित गर्न कर्तव्य ठानेको देखिँदैन । पार्टीभित्र अराजकता र अनुशासन हिनताले प्रश्रय पाएको देखिन्छ । सरकारमा जाँदा वा बाहिर हुँदा जुनसुकै अवस्थामा जन सेवक हुने बानी ह्रास हुनु दुःखद हो । यस्तो प्रवृत्तिले मानिसमा गणतन्त्रप्रति वितृष्णा बढ्ने हुन्छ, प्रतिगमनकारीलाई मलजल पुग्छ । 

यति बेला स्थानीय तहमा निर्वाचनको चर्चा चुलिएको छ ।  साना ठुला सबै पार्टीहरू निर्वाचनमा होमिएका छन् । २०७९ सालको पहिलो महिना वैशाख ३० गते निर्वाचन हुने गरी मिति घोषित छ । परमादेशका गठबन्धनेहरू जनादेशका विरुद्ध निरन्तर लागेका छन् । अहिलेको निर्वाचनले आउने सङ्घीय निर्वाचनमा को अघि आउने भन्ने कुराको साङ्केतिक जनमतको रूपमा यसलाई प्रचार गरिँदै छ ।

मूलतः नेपाल दुई दलीय प्रतिस्पर्धातिर जाने देखिँदै छ । नेकपा तीन भागमा र एमाले दुई भागमा हुँदा पनि ठुलो पार्टी एमालेका केपी ओली र गठबन्धनले थामिएको काँग्रेसका शेरबहादुर देउवा बीच नै प्रतिस्पर्धा हुने, अघि—पछि हुने पक्कापक्की छ । दक्षिणपन्थी खेमाले देउवा र वाम खेमाले केपी ओलीलाई मतदान गर्नेमा नै यो निर्वाचन केन्द्रित हुने देखिएको छ । स्थानीय हितमा आधारित केही सिटहरू अन्य पार्टीमा जानु स्वाभाविकै हुने छ ।

हामी मतदाताले पार्टीका निर्वाचन घोषणा हेरेर मत दिन्छौ । हामी हाम्रा चाहना र आवश्यकता त्यसले पूरा गरोस् भन्ने चाहन्छौँ । सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारहरू निर्वाचन अघि नै भताभुङ्ग हुने र नागरिकका काम नहुने स्पष्ट देखियो । यसलाई बुझ्न भूमि व्यवस्था आयोगको विघटन पुनर्गठनलाई हेरे पुग्छ । केही पार्टीले निहित स्वार्थका लागि सेवाग्राहीलाई पीडा दिन पिर थप्ने जस्ता कुरा यसबीच भए । गठबन्धनले देश राजदूत विहीन हुने बनायो । उनीहरू भागबण्डाको खिचातानीमा कर्तव्य च्यूत हुन पुगे । यी त अहिलेका केही नमुना खति मात्र हुन् । 

चुनावको घोषणा–पत्र बनाउँदा बहुसङ्ख्यक नेपालीहरूको पक्षमा पार्टीहरूले सोचुन्—
१.सम्भव र गर्न सकिने योजना भनून्, 
२. स्थानीय तहमा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखुन्, 
३. उत्पादन हुने क्षेत्रमा बजेटको ठुलो हिस्सा छुट्ट्याउन्— राम्रो पूर्वाधार ठुला आयोजनाका उपभोक्ता बेरोजगार र भोका जनता होइनन् उनीहरूलाई नेपालमै काम दिने सरकार सबै तहमा चाहिएको छ । रेमिटान्स र अनुदानले संसारको कुनै देश समृद्ध भएको छैन । 
४. सोच परिवर्तनमा ध्यान दिइयोस्— 
(क) मानव अधिकार हनन हुने, विभेद गरिने, महिला हिंसालाई जायज ठान्ने कुशास्त्रहरूलाई सच्याउन, सुधार्न—संशोधन गर्ने कानुन बनाउने वाचा गरियोस्, 
(ख) ज्येष्ठ नागरिक अशक्त हुँदा  सम्पत्तिमा सन्तानले दाबी गर्ने र पालन पोषणको दायित्व नलिने कुरालाई कानुनले सम्बोधन गर्ने  वाचा गरियोस्, 
(ग) सबै तहका सरकारहरूले विभिन्न क्षेत्रमा कसैका हक नकुल्चिऊन् । राज्य सबैको हो भन्ने संस्कार विकास हुने शिक्षा, पाठ्य सामाग्री र पठन—पाठन नीति बनाएर लागू गर्ने वाचा गरोस्, 
(घ) देशका शिक्षित र सक्षम युवालाई देश विकासमा प्रोत्साहन गर्ने, देशभक्तिको संस्कार भर्न सरकार चलाउने, संवैधानिक निकायको नेतृत्व गर्नेहरू नैतिकवान् पारदर्शी हुन अनिवार्य हुन्छ । कानुनी छुटमा काखा—पाखा नगरियोस्, कानुनमा सबै बराबरी  गरियोस् ।

यी विषयका साथै—
१.पार्टीहरूले चुनाव जित्ने उम्मेदवार छान्दा नियत राम्रो भएको कुरामा ध्यान दिउन्, 
२. पार्टीमा सङ्गठित, अनुशासित र सक्षम व्यक्तिलाई उम्मेदवार बनाउन्, 
३.उम्मेदवार छनोट प्रक्रियालाई ‘माथि’बाट गरिने टिके प्रथा अन्त्य गरी निर्वाचन क्षेत्रले मन पारेकोलाई छनोट गर्ने व्यवस्था गरियोस्, 
​​​​​​​४.तल लडाउने र माथिबाट बदनाम भएकालाई टिकट दिने कुप्रथा खारेज गरियोस् । 

सबै पार्टीहरू जनतामा सेवाले खरो उत्रने कुरा छाडेर एक अर्कालाई गाली—गलोज शोभनीय हुँदैन र भइरहेको छैन । निर्वाचन आयोगले प्रचार विधि तय गरी रेडियो, टेलिभिजनले सबैलाई अनुपातमा समय तोक्ने, आफ्ना राम्रा कुरा जनतामा राख्न पाइने, अरूको बदनाम गर्न नपाइने कुरालाई स्थापित गर्न ध्यान देओस् । मतदातालाई सेवाले प्रभाव पार्नु उचित हो; डर, धाक र प्रलोभन जस्ता कुरा रोक्ने उपायको खोजी सभ्य समाजका लागि आवश्यक हुन्छ । शक्तिको दुरुपयोग रोकिनुपर्छ र निष्पक्ष जनमत प्रकट हुनु दिइनुपर्दछ । निर्वाचनको माध्यमबाट जनताको मन जितेर सेवा गर्ने सबैलाई शुभकामना !

(लेखक वरिष्ठ वामपन्थी नेता हुनुहुन्छ ।)

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ९ : ०७ बजे