प्रधानमन्त्री देउवा आज भारतको औपचारिक भ्रमणमा जानुहुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौँ पटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो । 

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँ दिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । 

स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्र मन्त्री नारायण खड्कालगायत मन्त्रीहरू, सचिवहरू तथा पदाधिकारीहरू रहनुभएको छ । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डल स्तरीय वार्ता हुने कार्यक्रम रहेको छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्नुहुनेछ ।

त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेश मन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा देउवाले भारतका विदेश मामिला मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नुहुनेछ । 

त्यस्तै प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : १६ बजे