गृहमन्त्रीका भाइद्वारा गैरकानूनी रुपमा लालपुर्जा वितरण

बुटवल – ​​​​​​​स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले गैरकानूनी तरिकाले लालपुर्जा वितरण गरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी एमाले रूपन्देहीले आपत्ति जनाएको छ।

बुधबार जिल्लाको ओमसतिया गाउँपालिका वडा-२ करबलामा लालपुर्जा वितरण कार्यमा सरोकारभन्दा बाहिरका नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामकृष्ण खाणले लालपुर्जा वितरण गरेको भन्दै एमालेले आपत्ति जनाएको हो।

सरकारी ओहोदामा बसेको, जनप्रतिनिधि वा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले मात्र वितरण गर्न पाउने सरकारी कागजात राजनीतिक पार्टीका नेतालाई प्रयोग गरेर वितरण गरिएकोप्रति एमालेले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको हो।

एमालेले रामकृष्ण खाण नेपाली कांग्रेसको सभापतिबाहेक अहिले कुनै सार्वजनिक पदमा नभएको समयमा सरकारी कार्यालयको कागजात वितरणमा संलग्न हुनु आपत्तिजनक रहेको बताएको छ।

कांग्रेस सभापति खाण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्। एमालेले गृहमन्त्री खाणको शक्तिको आडमा भाइले भूमिहीनका लालपुर्जा वितरण गरेको आरोप लगाएको छ।  

खाणले बुधबार ओमसतिया गाउँपालिका वडा नं २ करबलाका २४ घरधुरी लालपुर्जाविहीनहरूलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्नु भएको थियो ।

ओमसतिया गाउँपालिका वडा–२ का अध्यक्ष ज्ञानेश श्रेष्ठले नापी कार्यालयले उपलब्ध गराएका लालपुर्जा कांग्रेस सभापतिलाई प्रमुख अतिथिको रूपमा निम्त्याएर वितरण गरेको बताउनु भयो । श्रेष्ठ गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ६ : २५ बजे