नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा, आजै दर्ज्यानी चिह्न प्रदान गरिने 

काठमाडौँ । सरकारले नेपाल प्रहरीका तीन जना डिआइजीहरू वसन्तकुमार पन्त, धिरज प्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । 

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । 

बढुवा हुनुभएका तीन जनालाई आजै दर्ज्यानी चिह्न लगाइदिने कार्यक्रम छ । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा कार्यक्रमको आयोजना गरी उहाँहरूलाई दर्ज्यानी चिह्न लगाउने कार्यक्रम रहेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिनुभयो ।

सरकारबाट आधिकारिक निर्णय आई नपुगेको भन्दै आउने बित्तिकै विशेष समारोहको आयोजना गरिने उहाँले बताउनुभयो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १  गते उहाँहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । त्यस विरुद्ध लोकसेवा आयोगमा उजुरी परेको थियो । जसले गर्दा उहाँहरूको नियुक्तिमा ढिलाइ भएको थियो । तर, आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेपछि मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गरेको हो । 

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  १२ : १६ बजे