‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पाँच दलीय गठबन्धन सुनको बाला देखाएर सिकार गर्ने नीति

वर्तमान अवस्था पाँच दलीय गठबन्धनका कारणले नेपाली राजनीतिको स्थिति ब्रेक फेल भएको अवस्था हो । २०५७/०५८ सालमा पनि देशमा शेरबहादुर देउवाको नेतृत्व थियो । त्यतिबेला पनि नेपाली राजनीतिलाई उनकै कारणले गलत स्थानमा पुर्‍याएको कुरा सर्वविदितै छ । २०७४ सालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार बन्ने पक्कापक्की भएपछि नै कतिपयलाई एक सय चार डिग्री ज्वरो आइसकेको थियो ।  ज्वरोको तापले गर्दा नै सरकार निर्माणको समयमा पनि अनेक बहाना बनाएर निर्वाचनको परिणाम आएको झण्डै अढाई—तीन महिनापछि मात्र नयाँ सरकार देशले देख्न पाएको थियो । 

अनेक बहानामा अलमल्याउनु, जनताको लागि काम गर्न नदिनु, गरेका कामको गलत अर्थ लगाएर आफू पनि काम गर्न नसक्ने र अरूले गरेको राम्रो कामको जस पनि दिन नसक्ने स्वार्थी चरित्रका कारणले  हाम्रो देशका धेरै राजनीतिक पार्टीका नेतृत्वले झुटको धन्दा चलाउने गरेका छन् । जनचेतना न्यून भएको समयमा झुटको फल पाके पनि अब झुट भनाइ र गराइले सधैँभरि जनतालाई अलमल्याई रहन सक्तैन । त्यस्ता दलहरू जनताको नजरमा दिन प्रतिदिन किनारामा धकेलिँदै गइरहेका पनि छन् । नेपाली जनताले दिएको पटक—पटकको विश्वासलाई सत्ता स्वार्थको भर्‍याङले पटक—पटक धोका दिएको छन् । कामले प्रजातन्त्रवादी बन्न नसकेका नामधारी प्रजातन्त्रवादीले केपी ओली नेतृत्वको सरकारलाई पाँच वर्ष काम गर्न नदिने लक्षण पहिलै नै देखिएको थियो ।  विगतका सरकारहरूले राज्यमा आफ्नो उपस्थिति समेत जनाउने हैसियत नराखेको अवस्थामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कामबाट तर्सिएर मुर्छित हुन पुगेको पाइन्छ । राजनीतिको मूल बाटोबाट सधैँभरि पराजित हुने मानसिक भयले बनेको अदालती सरकारको आयु निर्वाचन परिणाम नआउन्जेल मात्रै अस्तित्वमा रहनेछ ।

जतिसुकै मिथ्या आरोप लगाए पनि नेपाली राजनीतिमा केपी ओली सरकारको लोकप्रियता, देश र जनता प्रतिको समर्पण, देश विकासमा देखिएको अग्रता, जनता प्रतिको उत्तरदायित्व, परराष्ट्र मामिलामा देखाएको कूटनीतिक सफलता, देशभक्ति भावनामा बढोत्तरी, जनविश्वास आर्जनमा सफलता, बजेट परिचालनमा अग्रता, विकासमा देखिएको प्रतिबद्धता र सफलता, नेपालको भौगोलिक नक्सामा हराएको सीमाको पुनः स्थापना र चुच्चे नक्सा पास अभियानमा सर्वसम्मत राष्ट्रिय एकताको नेतृत्व, ल्याण्डलक मुलुक नेपाललाई ल्याण्डलिंक्ड मुलुकमा रूपान्तरण गर्ने देशभक्तिपूर्ण योजना, आर्थिक वृद्धिदरमा सफलता, वैदेशिक व्यापार घाटामा सुधार, रोजगारी वृद्धि आदि उज्याला र सबल पक्ष लुकाएर लुक्दैन । 

माधव नेपाल र प्रचण्डले कार्यकर्ता र जनतालाई भुलभुलैयामा पारेर अलमल्याउनको लागि मात्रै सबै नाटक भएको देखिन्छ ।  एक—अर्काको पुच्छर समाएर निर्वाचनको वैतरणी तर्ने काँग्रेसी सपनाले पार्टीको अस्तित्व नै धरापमा पार्दै छ । 

​​​​​​​​​​​​​​ओली नेतृत्वको सरकारले प्रतिगमनकारी काम गरेको भनेर रुवाबासी गर्ने गठबन्धनकारी दलको उद्देश्य के हो र के थियो भनेर लामो भ्रम पालेर बस्नुको कुनै तुक देखिँदैन । यस दुनियाँमा धेरै साधु बिरालाहरूको नाटक प्रदर्शन हुने गरेका छन् । पाँच दलीय गठबन्धनको प्रपञ्च पनि त्यस्तै ढङ्ग नपुगेको नाटक मात्र हो । यसलाई कायम राखेर सबै तहका चुनावसम्म अपवित्र गठबन्धनको  एकता कायम राख्ने कायरतापूर्ण हुङ्कारको असम्भव नाटक मञ्चन बाहेक केही पनि छैन । यो गठबन्धन देश र जनताको लागि कुनै नयाँ नौलो र रचनात्मक राजनीतिक सामाजिक काम गर्नका लागि होइन भन्ने कुरा परमादेशको यी आठ महिनाका कामले स्पष्ट पारिसकेको छ । यो गठबन्धन ओली नेतृत्वको सरकारले जनतामा पारेको प्रभाव भत्काउनका लागि हो । ओली सरकारले ल्याएको ४० प्रतिशतको दलबलको अध्यादेश विरुद्धको कोकोहोलोको नाटक संसद् चालु अवस्थालाई बन्द गरेर २० प्रतिशतको अध्यादेश ल्याउनुले पुष्टि गरिसकेको छ । 

माधव नेपाल र प्रचण्डले कार्यकर्ता र जनतालाई भुलभुलैयामा पारेर अलमल्याउनको लागि मात्रै सबै नाटक भएको देखिन्छ ।  एक—अर्काको पुच्छर समाएर निर्वाचनको वैतरणी तर्ने काँग्रेसी सपनाले पार्टीको अस्तित्व नै धरापमा पार्दै छ । 

यो गठबन्धन देश र जनताको हित र उन्नतिको लागि नभएर जनतालाई सुनको बाला देखाएर राजनीतिक सिकार गर्ने रणनीति बाहेक अन्य केही होइन भन्ने पुष्टि हुन चुनावसम्म पर्खनै पर्ने हुन्छ । बाँकी कुरा समयले नै बताउने छ । 

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ११ : ०४ बजे