साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

इन्टरनेटको पहुँच गाउँ गाउँमा पुग्न थालेसँगै धमाधम प्रविधिसँग जोडिँदै तेह्रथुमका विद्यालय

तेह्रथुम । प्रविधिको विकाससँगै इन्टरनेटको पहुँच गाउँ गाउँमा पुग्न थालेपछि तेह्रथुम जिल्लाका विद्यालयहरू डिजिटल प्रविधिसँग जोडिन थालेका छन् । 

जिल्लाको ग्रामीण स्तरमा रहेका विद्यालयहरूमा समेत पछिल्लो समय इन्टरनेट जडान भएपछि डिजिटल प्रविधिसँग जोडिएका हुन् ।

केही वर्ष अघिसम्म कागजात पत्रमार्फत सम्प्रेषण गर्दै आएका विद्यालयहरू आफ्नै कार्यालयबाट इमेल गर्न थालेका छन् । विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकैसाथ सूचना प्रविधिमा जोड्न तेह्रथुमका चार वटा माध्यमिक विद्यालयमा डिजिटल साक्षरता अभियान सुरु भएको छ ।  

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको डिजिटल साक्षरता अभियान सुरु भएपछि शिक्षकका साथै विद्यार्थीहरूलाई समेत पठन पाठनमा सहज भएको छ ।

ई–एजुकेसनको माध्यमबाट सिङ्गो समुदायलाई कम्प्युटर प्रविधिमा जोड्ने उद्देश्यले  ‘प्रदेश समृद्धिको आधार, शिक्षामा डिजिटल पूर्वाधार’ नाराका साथ न्छ्यायेम गाउँपालिकाको गौखुरी मावि र श्रीजुङ मावि, फेदाप गाउँपालिकाको जनज्योति मावि र छथर गाउँपालिकाको भगवती माविमा एकै साथ डिजिटल साक्षरता अभियान सुरु भएका छन् ।

विद्यालयमा डिजिटल प्रविधिबाट पढाइ सुरु भएपछि पुस्तकमा नभएका नयाँ नयाँका शैक्षिक सामग्रीको अध्ययन गर्नसमेत सजिलो भएको भगवती माध्यमिक विद्यालयमा कक्षामा अध्ययनरत विद्यार्थी निशा बाग्दासले बताउनुभयो। उहाँ भन्नुहुन्छ, “आफूले नजानेको कुराहरू गुगलमार्फत खोजेर पढ्न पाएका छौँ । किताबमा नभएका शैक्षिक सामग्रीहरू पनि सजिलै पाइन्छ । डिजिटल प्रविधिसँगै इन्टरनेट जडानले शिक्षक नहुँदा पनि अध्ययन गर्न सजिलो भएको छ ।”

कक्षाहरूमा स्मार्ट बोर्ड जडान गरी अध्यापन गर्दै आएको विद्यालयहरूले जनाएका छन् । स्मार्ट बोर्डहरूमा नेट जडान भएकाले सचित्र पठनपाठन गर्दै आएको भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीमान् बस्नेतले बताउनुभयो । “विद्यालयमा डिजिटल कक्षा सुरु भएपछि विद्यार्थी र शिक्षक दुवैलाई पढ्न पढाउन सहज भएको छ । शिक्षक नहुँदा पनि विद्यार्थीहरूलाई आफ्नो विषयवस्तुलाई सहजै रूपमा पढ्न पाउने गरेका छन् । स्मार्ट बोर्ड र स्मार्ट टिभी जडान गरी सबै कक्षामा डिजिटल कक्षा सञ्चालन गर्ने तयारीमा जुटिरहेका छौँ ”, प्रधानाध्यापक बस्नेतले भन्नुभयो ।

प्रविधिको विकाससँगै जिल्लाका विद्यालयहरूमा कम्प्युटर जडान भएका छन् । कम्प्युटरको साथमा इन्टरनेट जडान गर्ने क्रम बढ्दो छ । 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : ५७ बजे