‘एउटै नाउरको सिकार गर्न २३ लाख’

‘देशको नक्सा बढाउने पार्टीले चुनाव नजितेर कसले जित्छ, बाबु ?’

म यस पटक लामो समयपछि मामाघर मधेस पुगेको थिएँ । मेरो माइला मामा ९५ वर्षमा हिँड्दै हुनुहुन्छ । हिड्डुल गर्ने र अन्य शारीरिक तन्दुरुस्ती कायम भए पनि मामा कान चाहिँ पटक्कै नसुन्ने । लामो समयपछि ९५ वर्षका मामालाई भेट्दा र आमासरह उहाँको वात्सल्य पाउँदा मलाई पनि घर पुगेकै झझल्को आएको थियो । सामान्य पारिवारिक सञ्च बिसन्चोबाट कुराकानी सुरु भयो ।

“भान्जा त निक्कै मोटाउनु भएछ । उहिले जेल बसेको बेलाको तपाईँको फुकिढल शरीरको मात्र याद आइरहन्छ मलाई । पुलिसले कुटेका सुम्ला । जेलको चार दिवार भित्र र बाहिर उभिएर कुरा गरेको सम्झन्छु । गाउँतिर तपाईँको एउटा भान्जो सिद्धिएछन्, एउटा कुखुराको फूल फुट्यो भन्नु पर्‍यो भन्थे । ”

मैले टाउको हल्लाएँ । ममाथि लगाइएको राजकाज मुद्दाका विभिन्न प्रसङ्‌ग टेलिभिजनमा चलचित्र सुरु भएझैँ मेरो मानस पटलमा सलबलाए । 

पञ्चायत व्यवस्थाविरुद्ध प्रतिबन्धित नेपाली काङ्ग्रेस र प्रतिबन्धित कम्युनिष्ट पार्टीहरूले आफ्ना विद्यार्थी सङ्‍गठनमार्फत् आन्दोलन सञ्चालन गरिरहेका थिए । राजधानी काठमाडौँमा त आन्दोलन केन्द्रित थियो नै, विराटनगर, पोखरा बुटवल लगायतका नवोदित सहरमा पनि व्यवस्था विरोधी गतिविधि बढ्दै गएका थिए । प्रतिबन्धित पार्टीहरूको प्रभावको बाछिटा पूर्वका पहाडी गाउँसम्म पुगेको थियो, हामीसम्म पनि पुगेको थियो । गाउँमा मास्टरको चक्चकी देखेर मास्टर बन्ने उद्देश्य राखेर म सानो ठिमी क्याम्पस भर्ना भएको थिएँ । मेरो उच्च शिक्षा अध्ययनको पहिलो डाकोमै अखिल९पाँचौँ०को प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी हात लाग्यो । 

त्यही समयमा राष्ट्रिय पञ्चायतको चुनाव आयो । झापा विद्रोहको रापतापमा गठन भएको र तीव्र प्रभाव विस्तार गर्दै लगेको (प्र) नेकपा (माले)ले सो राष्ट्रिय पञ्चायतको चुनावमा आफ्नो तर्फबाट जन पक्षीय उम्मेदवार उठाएको थियो । तीमध्ये काठमाडौँका पद्मरत्न तुलाधर, पोखराका सोमनाथ अधिकारी 'प्यासी', चितवनका जागृत प्रसाद भेटवाल, धेरै लोकप्रिय बने, चुनाव जिते । उनीहरूले चुनावी सभामा गरेका भाषणको टेप रेकर्ड देशको कुनाकाप्चासम्म पुर्‍याइयो । पञ्चायती व्यवस्थाविरुद्ध जनतालाई सङ्‌गठित गर्न त्यो टेप रेकर्डले ठुलै भूमिका खेलेको थियो । 

राष्ट्रिय पञ्चायतको चुनाव सकिएको केही महिनापछि क्याम्पसको लामो बिदामा तेह्रथुमको जल्जले सिम्ले९हाल फेदाप गाउँपालिका०का सानो ठिमी क्याम्पसमा अखिलमा सक्रिय केही विद्यार्थीले पनि सो टेपसहितै गाउँ फर्केका थियौँ । गाउँ फर्केपछि राति राति युवाहरू जम्मा गरेर टेप रेकर्ड सुनाउन थालियो । टेप सुन्न आएका युवा(विद्यार्थीलाई पञ्चायत विरोधी प्रशिक्षण दियौँ । भाषणको टेपसँगै जनवादी गीत सुनाइदियौँ । गाउँ(गाउँबाट उठ, बस्ती-बस्तीबाट उठूँ धेरै युवायुवतीले कण्ठस्थ गाउन थाले । 

एक दिन नजिकैको शङ्कर मा.वि.मा आठ कक्षामा पढ्ने विद्यार्थी पार्वती धाराबाट पानी ल्याउन प्रयोग गरिने तुमलेट बजाउँदै जनवादी गीत गाएर पानी पँधेरातिर जाँदै रहिछन् । सो सुनेपछि एक सुल्पुडे स्वभावका शिक्षकले  पार्वतीलाई केरकार गरेछन् । हाम्रो अर्को भूमिगत भेलामा विना बुलाइ मेहमान जसरी उनी पनि सामेल भए । त्यो भेलाले हाम्रो गाउँ नजिकै चिचिलिङ पोखरीमा पिकनिकको आयोजना गर्ने निर्णय भयो । हाम्रो समूहको वर्कत्‌ले भ्याएसम्म पिकनिकको भव्य आयोजना गरियो । ब्रिटिस लाहुरेको गाउनै थर्काउने  क्यासेट प्लेयरले चिचिलिङ पोखरीको वरिपरिको डाँडो थर्काउँदै जनवादी गीत बजायो । हाम्रो चाहनाविपरित सुल्पुडे शिक्षकले पिकनिक कार्यक्रमलाई औपचारिक बनाए । हामी सबै विद्यार्थी नेतालाई पदअनुसारको आसन ग्रहण गराए । हामीले पनि पालैपालो पञ्चायती व्यवस्थाको उछित्तो काढ्यौँ ।

भोलिपल्टदेखि हाम्रो गाउँमा प्रहरीको गस्ती बढ्न थाल्यो । काठमाडौँबाट गाउँ फर्किएका हामीहरूको तीन पुस्ते नालीबेली उतारिएछ । प्रहरीले पक्रनु पहिले हामी र हाम्रा अभिभावकलाई बोलाएर एक पटक सम्झाई बुझाइ गर्ने जिम्मा प्रधानपञ्चले लिएछन् । नजिकैको प्राथमिक विद्यालयको प्राङ्गणमा हामीलाई बोलाइयो । 

प्रधानपञ्च हामीलाई सम्झाउन थाले । राजाको विरोध गर्ने, पञ्चायती व्यवस्थाको विरोध गर्ने काङ्ग्रेस र कम्युनिष्ट अराष्ट्रिय तत्त्व हुन् भने । 

''तिमीहरू जस्ता देशका कर्णधार युवा काङ्ग्रेस र कम्युनिष्टजस्ता अराष्ट्रिय तत्त्वतिर लाग्नु भनेको आफू वर्बाद हुनु हो, जेलमा सड्नु हो, देशलाई वर्बाद पार्नु हो । तिमेरको अखिल त झापातिरको नक्स्लाइट हो, सि पी र के पीको आतङ्‌ककारी समूह हो । झन् खतरा हो ।'' उनले भने ।

प्रधानपञ्चले आफ्नो भनाइ सिद्ध्याएपछि एक छिन त्यहाँ सन्नाटा छायो । 

''लू, कुरा बुझ्यौ होइन ? अब व्यवस्थाको विरोधमा लाग्दैनौ नि । कि के छ भन्नु ?'' 

फेरि कोही बोलेन । 

''हैन यो अराष्ट्रिय तत्त्व भनेको चाहिँ के अरे हओ प्रधानपञ्चज्यू?''  मसँगै पढ्ने एक सुरो साथीले सोध्यो । 

''अराष्ट्रिय तत्त्व भनेको राष्ट्रको अहित चिताउने तत्त्व हो, पञ्चमाङ्गी तत्त्व हो । यति पनि थाहा छैन ?'' मास्टरी शैलीमा प्रधानपञ्चले भने । 

''अनि हामी सबै अराष्ट्रिय तत्त्व, तिमी मात्रै राष्ट्रिय तत्त्व रु सुहाउने कुरा गर्नु पर्छ नि!'' साथी रिसले चुर भएर करायो । 

'प्रधानपञ्च मुर्दावाद !' अर्को साथीले सुरु गर्‍यो नारा ।

त्यहाँ उपस्थित सबै युवाले 'मुर्दावाद' कराए । पछाडिबाट कसैले करायो-'यो प्रधानपञ्चलाई ठोक!

' प्रधानपञ्च भागे । कोही उसलाई ढुङ्गा हान्न खोज्दै थिए । हामीले रोक्यौँ । कचहरी सकियो । हामी लाखापाखा लाग्यौँ । तुरुन्त हल्ला घर(घर आइपुग्यो, गाउँका सबै व्यवस्था विरोधीलाई पुलिसले पाता कसेर लाँदैछ । 

तुरुन्त  हामी क्याम्पसे केटाहरू पोका पुन्तुरा कसेर लुक्दै छलिँदै काठमाडौँ फर्कियौँ ।   

२०४५साल । कोशी अञ्चलाधीशको कार्यालय विराटनगर । वैशाखको उपाम्मे गर्मी । पञ्चहरूको भिडभाड । तत्कालीन राजा वीरेन्द्र धनकुटा भ्रमणमा रहेकाले पूर्वका पञ्चहरूको ताहुरमाहुर खपिसक्नु थिएन । हतकडीमा सजिएका हामी चार जनातिर सबैको नजर राखिरहेथ्यो । हाम्रो “अपराधी” टोलीमा तारा, कृष्ण र म तीन जना विद्यार्थीभन्दा बढी आकर्षणको केन्द्र मेरा एक पाका दाइ वासुदेव थिए । निधारमा लामो चन्दन लगाएका धोती फेरेका ती दाइको हातमा हतकडी देख्दा सबैको कौतूहलको पारो चढ्नु अस्वाभाविक थिएन । हामीलाई हेरेर खासखुस गरेको देखिन्थ्यो । 

एउटा उमेर पाकेको दौरा सुरुवाल कोट लगाएको पञ्चले दाइलाई सोधे — “ के कसुर गरेर हतकडीमा पर्नुभयो भाइ ?”

दाइलाई आफ्नो कसुर थाहा थिएन । दाइकी छोरी पार्वती अखिलको राजनीतिमा भर्खरै समावेश भएकी थिइन् । उनी जनवादी गीतमा राम्रो नाच्ने भएकोले मोदनाथ प्रश्रित उपस्थित हुने महेन्द्र मोरङ क्याम्पस विराटनगरको एक कार्यक्रममा पठाइदिनू भन्ने एउटा चिठ्ठी वासुदेव दाइको नाममा मैले लेखेको थिएँ ।  बाटैमा त्यो चिठ्ठी प्रहरीको खानतलासीमा फेला परेपछि उनलाई दार्जिलिङ जान पोका पन्त्यौरा कस्दै गर्दा गाउँबाटै पक्राउ गरिएको थियो । हामीलाई राजकाज मुद्दा चलाउने तारतम्य मिलाइँदै थियो । आफ्नो अधिकांश समय दार्जिलिङमा पुरेत्याइँ गरेर बिताउने दाइलाई देशको राजनीति प्रति त्यति धेरै चासो थिएन । हामीले उनको सामुन्ने आक्कलझुक्कल पञ्चायतको विरोध गर्दा 'यी देश लुट्ने डाका पञ्चहरू' भनेर भडङ्ग रिसाउँथे । 'उ त्यहीँ दार्जिलिङमा कति राम्रो व्यवस्था छु भन्थे ।' 

हामी तीन विद्यार्थीलाई भेडेटारमा समातिएको थियो । धरान पुलिस हिरासतमा एक रात राखेर हामीलाई इनरुवा सार्वजनिक बसमा हत्कडी लगाएर ल्याइयो । पक्राउ परेकाको सङ्ख्या बढी र धरान पुलिस थानामा फलामे कत्कडी कम हुँदा कतिलाई सनपाटको दाम्लोले बाँधेर ल्याइएको थियो । सार्वजनिक बसका यात्रुले हामीलाई घाँटी तानी तानी हेर्थे ।  

दाइले ग्लानि, आक्रोश र अनभिज्ञता मिश्रित भाव देखाउँदै मतिर हेरे । मलाई त्यो पञ्चसँग बोल्न मन थिएन । मैले बोल्न अन्कनाइरहँदा हाम्रो हतकडी समाइरहेको पुलिसले भन्यो—“राजकाज मुद्दा हजुर ! ”

पञ्च बोलेन । ऊ उता फर्कियो । शायद  हामीजस्ता “अराष्टि«य तत्त्व”सँग बढी बोल्नु उसका लागि खतरा हुन सक्थ्यो । उनको खाइपाइ आएको सुविधा गुम्न सक्थ्यो ।

आफूलाई राजकाज मुद्दा लाग्दै छ भन्ने पहिलो पटक सुनेका दाइको अनुहार घामलाई एक्कासि बादलले छेकेजस्तो अँध्यारो भयो । उनको भृकुटी गाँठो पर्‍यो । उनका ओठ फरफराए । र, गोडा थर्थराए ।

उनले आकाशतर्फ नजर डुलाउँदै बोले—“लौ बरबाद भयो । मेरा जजमानले मलाई मार्छन् अब । पर्सी र निपर्सी तीन वटा सराद्ध भ्याउनु छ । भोलि त कुनै हालतमा सिलगुडी पुग्नु छ ।”

सबै पञ्चहरू अञ्चलाधीशलाई धनुष्टङ्कार नमस्कार गरेर त्यहाँबाट हिँडे । अञ्चलाधीशको कठघरामा उभिने हाम्रो पालो आयो । 

दानबहादुर शाही कोशी अञ्चलाधीश थिए । राजाका आधिकारिक प्रतिनिधि । अति विश्वासपात्र । उनी भनेपछि सबै त्राहिमाम । १५ दिनसम्मको हिरासत बसाइपछि हामीलाई मुद्दा फैसलाको सिलसिलामा त्यहाँ लगिएको थियो । अञ्चलाधीशको कोठाको एक कुनामा हामी उभियौँ । अञ्चलाधीशले डायरी पल्टाए । चस्मा मिलाएर एक छिन हाम्रो नाम खोज्यो । ऊ पालैपालो बयान लिन थाले । 

“अँ, निर्मल भट्टराई, यता नजिक आऊ ।”

मेरो हतकडी समातेको पुलिसले उसको टेबल अगाडि लग्यो । 

उसले मलाई शिरदेखि पाउसम्म एक टक हेरिरह्यो ।   

पुलिसले अघिल्लो रात मलाई बेस्सरी कुटेको थियो । मेरो अनुहार सुन्निएको थियो । अञ्चलाधीश कार्यालय छिर्दा कतै ऐनामा मेरो दुवै आँखा मुनि कालो दाग देखिएको थियो । अघिल्लो रात पटक-पटक पुलिसले 'तेरो सि पी मैनाली कहाँ छ ?' भन्दै मेरा कन्सिरीका रौँ उखेलेको र निर्घात पिटेको हुनाले म राम्ररी बोल्न सक्ने अवस्थामा थिइन । 

“हेर्दा त ओठ निचोर्दा आमाको दूध आउला जस्तो छ , तिम्रो गाउँको प्रधानपञ्चलाई किन लखेटेको ?”

“जनतालाई दुःख दिएकोले ।”

उसको अनुहारमा रिस दौड्यो । 

“भक्तपुर क्याम्पस पढ्दा रहेछौ । क्याम्पसमा कत्तिको नेतागिरी गरिन्छ ?”

“ म भक्तपुर क्याम्पसको भर्खरै निर्वाचित स्ववियुको पदाधिकारी हुँ ।”

“पदाधिकारी ? १”

उसले अनेकन् प्रश्न गर्‍यो । मैले सतर्कतापूर्वक जवाफ दिएँ ।

“ श्री ५ महाराजाधिराज र पञ्चायत व्यवस्थाको कहिल्यै विरोध गर्दिन भन्ने कागजमा सही गर्‍यौ भने आजै छाडिदिन्छु , सही गर्छौ ?” उसले अन्त्यमा सोध्यो । 

“गर्दिन”—मैले तुरुन्त जवाफ दिएँ । 

मसँग पक्राउ परेका साथीहरू कृष्ण दाहाल र तारामान मादेनलाई पनि उसले मलाई सोधेजस्तै अनेकन् प्रश्न गर्‍यो । 

अन्त्यमा चन्दनधारी दाइलाई उसको अगाडि लगियो । 

“यी नक्सलाइटहरुको साथमा यो चन्दने बाहुन कसरी ?”

हामीलाई नक्सलाइट भनेर गाली गरेको सुनेपछि मेरा चन्दने दाइ झन् बढी डराए । उनकी छोरीलाई पत्र लेख्ने म भएकोले मसँग दाइ झन् रिसाए । लाग्दथ्यो-मलाई उनी भित्रभित्रै ठुलै दागा धर्दै छन् । अनुहारमा उनको रिस छर्लङ्ग देखिन्थ्यो । दाइ अगाडि बढे । 

“मलाई केही थाहा छैन हजुर ”, दाइले हात जोड्न खोजे । हतकडी बज्यो ।

“छोरीलाई आठ कक्षा पढ्दै कम्युनिष्ट बनाउने ? वाह १ ”—उसले दाइलाई थप थर्कायो । 

“म त सधैँ दार्जिलिङतिर पाती पढ्न जाने बाहुन हुँ हजुर, मलाई केही थाहा छैन । म यो घाँटीको कण्ठी समाएर भन्छु, मलाई केही थाहा छैन हजुर!”

हुन पनि उनलाई देशको राजनीतिको गहिराइ थाहा थिएन । यत्ति हो —उनी समाजमा व्याप्त गरिबी, शोषण , दमन अन्याय र अत्याचार मन पराउँदैनथे । आफ्नो वर्षभरिको पुरेत्याईंले राम्ररी परिवार पाल्न नसकेकोमा भित्रभित्रै आफ्नै प्रकारको आक्रोश थियो । वर्गीय आक्रोश थियो । आफ्नो देशले पनि उताको जस्तो व्यवस्था गरिदेओस् भन्ने अपेक्षा थियो ।

 “अ पण्डित क्यान नेभर वि अ कम्युनिष्ट  । कम्युनिष्टहरु भौतिकवादी हुन्छन्, उनीहरू धर्मलाई अफिम भन्छन् तर पण्डितहरू कहिल्यै भौतिकवादी हुन सक्दैनन् । बुझ्यौ?”  उनले नजिकैको प्रहरीको हाकिमतिर फर्केर भने । 

“यो कन्दने बाहुनलाई आजै छोडिदिनू । यी केटाहरूलाई राजकाज ऐन अन्तर्गत एक वर्ष जेल चलान गर्नू ।”

हामीलाई त्यसै दिन विराटनगर जेल चलान गरियो । जेलभित्र थुप्रै राजबन्दी थिए । दिन कटनीस्वरुप राजबन्दीका लागि बाहिरबाट लुकाएर ल्याइएका राता किताब पढिन्थ्यो  । रुसी क्रान्ति, चिनिया क्रान्ति, नक्सलवादी आन्दोलन,अध्यात्मवाद र भौतिकवादबारे लामा लामा बहस हुन्थे । ती बहसमा सामेल भएपछि मात्र त्यो अञ्चलाधीशको आशय प्रस्ट भयो । 

म सोच मग्न भएँ । मामाको संस्मरण सुनाइरहनु भयो  । 

“२०४५ सालमा राजाको विरोध गरेर राजकाज मुद्दामा विराटनगरमा तपाईँ जेल परेपछि दिदी मसँग रोएको सम्झना छ मलाई । विराटनगरको जेलमा तपाईँलाई भेट्न आउँदा, फलामे बारभित्र देख्दा मेरो पनि आँसु थामिएन ।”

मलाई पनि जेलको अनुभव मामालाई बेलिबिस्तार सुनाउन मन थियो तर मेरो कुरा मामाले सुने पो । 

मैले टाउको हल्लाउँदै सुनिरहे । 

मामाको संस्मरण रोकिएन ।

“सुरुमा त मलाई पनि राजनीतिमा लागेर भानिजले आफ्नो जीवन किन बरबाद पारेको होला भन्ने लागेको थियो । तर पछि बहुदल आएपछि जब मदन भण्डारी र मनमोहनको पार्टीमा लागेको थाहा पाएपछि मात्र म ढुक्क भएँ ।”

“के चल्दै छ त काठमाडौँमा राजनीति ?” विषय समसामयिक राजनीतितर्फ मोडियो ।

मैले “ठिकै छ”को हाउभाउ देखाएँ ।

मामाको अनुहारमा एक्कासि  आक्रोश देखियो ।

“यी देउवालाई कहिल्यै भलो हुँदैन बुझ्नुभयो ।” मामा कड्किनुभयो । “पाँच पटक प्रधानमन्त्री भएर के भो ? यी आएपछि बनेको कुरा पनि बिग्रन्छ ।” 

मैले जिज्ञासाको भाव तेर्स्याएँ ।

“ हेर्नु भान्जा बाबु ,देउवा गृह मन्त्री भएको बेला मदन भण्डारीको हत्या भयो । कस्ता राम्रा नेता थिए ती । हामीजस्ता बूढाबूढीलाई सहारा दिने र सम्मान दिने मनमोहन अधिकारीलाई जबरजस्ती हटाएर यिनले राम्रो गरेनन् । राजनीतिमा पनि अलिकति धर्म त होला नि । राजनीति भन्दैमा जे पनि गर्न त कसरी मिल्ला र ?”

मसँग धीत मर्ने गरी राजनीतिको बारे गफ गर्ने मामाको मुड देखेपछि  आफ्ना कुरा लेखेर भए पनि वार्तालाप अगाडि बढाउन म तम्सिएँ ।

“प्रचण्ड त झन् सबै आफैँले गरेको हुँ भन्छन् त । फेरि देउवा र प्रचण्ड मिलेका छन् अहिले । चुनावमा एमाले हराउन र देउवालाई जिताउन  माधव नेपालको चुरीफुरी कम छैन ।” मैले हतार हतार लेखेर चिर्कटो तेर्स्याएँ । 

चिर्कटो पढेपछि मामाको अनुहारमा आक्रोश देखियो । 

“प्रचण्ड त म देख्न पनि सक्दिन । यिनले ज्यान मार्ने राजनीति गरे । मलाई त्यस्तो राजनीति मन पर्दैन ।  हजारौँ निर्दोष जनताको ज्यान लिन सक्नेले जनताको सेवा गर्लान् भन्ने त मलाई पटक्कै विश्वास छैन । यी माधव नेपाललाई पनि पद भए पुग्ने रहेछ । पदका लागि यिनले राजा ज्ञानेन्द्रलाई बिन्ती-पत्र हालेनन् कि के मात्रै गरेनन् रु तर सबै मिलेर पनि एमालेलाई हराउन सक्दैनन् । राजनीतिमा अपराध गर्नेलाई जनताले कहाँ भोट दिन्छन् र ?” 

कमिजको खल्तीबाट चार हजारका टकटकाउने नोट झिक्दै मामाले 'हामीलाई यस्तो भत्ता दिलाउने पार्टी एमालेले फेरि चुनाव जित्छ।' भन्नुभयो ।

“स्थानीय चुनाव आउँदै छ, एमालेलाई सबै मिलेर लखेट्ने पो धम्की आउँदै छ त” मैले अर्को चिर्कटो मामालाई देखाएँ । 

पिपलको रुखको नक्साजस्तो मामाको अनुहारको चाउरीमा पुनः आक्रोश देखियो । 

“कसले लखेट्ने एमालेलाई ? जनताको मनबाट एमालेलाई कसैले लखेट्न सक्दैन । स्वार्थका लागि कोही क्षणिक रूपमा मिल्दा जनताको मन मनबाट एमाले लखेटिन्छ ? एउटा बच्चाले पनि नपत्याउने कुरा त नगर्नु नि । फेरि  एमाले सिङ्गो देशको बारेमा सोच्छ, देशको नक्सा बढाउँछ । छिमेकीको हेपाइबाट दब्दैन । बरु पौंठेजोरी खेल्छ । देशको विकास गर्छ । भावी पुस्ताको समेत हेक्का राखेर काम गर्छ । उनीहरू फगत आफ्नोबारे मात्र सोच्दछन् । एमाले सबै जनताको मुक्तिको बारेमा योजना कार्यान्वयन गर्छ, मुठ्ठीभर मानिसको स्वार्थको लागि उनीहरू सबै नेपाली जनतालाई दुःख दिन्छन् । उनीहरूलाई कसले पत्याउँछ ?'' 

मामाको राजनीतिक गफ लामै जानेवाला थियो । तर मेरो अन्य व्यस्तताले मामासँग लामो समय बिताउन सकिन । म मामाबाट छुट्टिएँ । तर, मामाका ती शब्दहरूले लामो समयसम्म मेरो मनमस्तिष्कमा घण्टी बजाइरहे । बजाइरहेछन् ।      

 

      

 

  

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ९ : ५९ बजे