दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पाँचपोखरीमा नमुना विद्यालय निर्माण, बिहीबार राष्ट्रपतिबाट उद्घाटन हुने

सिन्धुपाल्चोक  । पाँचपोखरी थाङपाल गाउँपालिकाको ड्रिम प्रोजेक्टका रूपमा रहेको थाङपाल भ्याली माध्यमिक विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।

बाग्मती प्रदेशभित्र वृहत् विद्यालयको रूपमा सञ्चालनमा आउने थाङपाल भ्याली मा.वि प्रदेश भित्रकै दोस्रो विद्यालय हुनेछ । 

पालिका भित्रको रैथानेश्वरी माध्यमिक विद्यालय, चिलाउने माध्यमिक विद्यालय,टालटुलेश्वरी आधारभूत विद्यालय र तिन कन्या आधारभूत विद्यालय गाभेर वडा नम्बर ४ स्थित थाङपालकोटमा एउटै नमुना विद्यालय बनाइएको हो ।

एसियाली बैङ्क एडिबीको २४ करोड लागत स्टमेट अनुसार हाल विद्यालयको सुविधा सम्पन्न ५ वटा भवन (ब्लक) निर्माण सम्पन्न भएको छ । 

गुणस्तरीय र प्राविधिक शिक्षालाई आत्मसाथ गर्दै पालिकाले ४ वटा विद्यालयलाई गाभेर १२ कक्षा सम्म सञ्चालन गर्ने गरी थाङपाल भ्याली मावि विद्यालय बनाएको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।

उहाँका अनुसार प्राकृतिक रूपमा सुन्दर तर भूगोलको हिसाबले विकट यो विद्यालयमा कम्प्युटर ल्याब, क्यान्टिन , होस्टलको व्यवस्था, बालमैत्री संरचना ,स्कुल बसको व्यवस्थापन हुने छ । ग्रामीण भेग शिक्षाको गुणस्तर वृद्धि हुने देखिएपछि विद्यार्थीसँगै अभिभावक पनि खुसी छन् ।

गाउँपालिका र वडाको सहकार्यमा २६ रोपनी जग्गा व्यवस्था गरी ५४ कोठे ५ वटा प्राविधिक भवन निर्माणको काम गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुन्दर सापकोटाले बताउनुभयो ।  

विद्यार्थी, शिक्षक र आवश्यक स्रोतको उचित समायोजनमा सहजताका साथै समय सापेक्ष शिक्षा प्रणालीमा ग्रामीण भेगका विद्यार्थीको पनि पहुँच पुर्‍याउने उद्देश्य रहेको उहाँको भनाई छ । विद्यालय निर्माण गर्न केन्द्र सरकार, प्रदेश सरकार, जनप्रतिनिधि, वडावासी र आर्थिक सहयोग गर्ने एडिबीप्रति आफूहरू आभारी रहेको उहाँले बताउनुभयो ।

 यो भवन भोलि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुँदैछ । 

पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यक्रम मेरो पाँचपोखरी तयार पारेर पठनपाठन सुरु गरेको छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम गाउँपालिका आफैले तयार गरी पठनपाठन सुरु गरेको हो । जिल्लाको दुर्गम भेग पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रमसहितको पाठ्यपुस्तक सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ८ : १३ बजे