सत्ता गठबन्धन एमालेसँग आतङ्कित भइरहेको छ : नेता रिजाल

काठमाडौँ । नेकपा (एमाले)का नेता विष्णु रिजालले सत्ता गठबन्धनलाई अवसरवाद र त्रासको गठबन्धन भन्नुभएको छ । 

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै एमाले प्रचार विभाग उप प्रमुखसमेत रहनुभएका नेता रिजालले भ्यागुताको धार्नी बनाउन कथित गठबन्धन भन्नुभएको हो ।

सत्ता गठबन्धनमा नेकपा माओवादी र एकीकृत समाजवादी यो समीकरणलाई संसदीय चुनावसम्मै लग्नुपर्ने मतमा छन् ।

नेता रिजालले आ ज सामाजिक सञ्जाल  फेसबुकमार्फत भन्नुभएको छ “एमाले र केपी ओलीको विरोध गर्नुबाहेक आठ महिनासम्म सत्तापक्षले जनतासमक्ष भन्नका लागि एउटा पनि काम गर्न सकेको छैन । ओली सरकारका पालामा निर्माण भएका योजनाहरूको टुटी खोल्न हेलिकोप्टर चढेर रमाइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्टै भनेका छन्, एमाले बलियो छ, एक्लै लड्न सकिन्न ।”

उहाँ ले अगाडि लख्नुभएको छ, “त्यही भएर भ्यागुताको धार्नी बनाउन उनीहरूले कथित गठबन्धन भनिरहेका छन् । सिद्धान्त, विचार, झण्डा, कार्यनीति, रणनीति, कार्यदिशा, शब्द प्रयोग जस्ता कुनै पनि कुरा नमिल्नेहरू बीचको गठबन्धन अवसरवाद र त्रासको गठबन्धनको हुन्छ । हामीले बुझ्छौँ र प्रस्ट छौँ, सत्तारुढ गठबन्धन हामीसँग जति आतङ्कित भइरहेको छ, हाम्रो लोकप्रियता र शक्ति त्यति बढिरहेको छ ।”

घेराबन्दी र षड्यन्त्रलाई परास्त गर्दै अत्यधिक बहुमतसहित पहिलो शक्ति हुनबाट एमालेलाई कसैले रोक्न नसक्ने उहाँले जिकिर गर्नुभएको छ । 

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ५४ बजे