बेँसीसहर–चामे सडकखण्ड आजदेखि सञ्चालन

मनाङ। लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडकखण्ड आजदेखि सञ्चालनमा ल्याइएको छ । सडक निर्माण लागि गत फागुन २० देखि बन्द रहेको सडक २५ दिनपछि आज पूर्णरुपमा खुलाइएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कलभर्ट निर्माण गरिएको छ । कलभर्टको  ढलान पूर्णरुपमा ‘सेट’ नभएका कारण गत फागुन २० गतेदेखि सडक बन्द थियो । 

पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासो गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ । यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा गरिएकामा गत कात्तिकमा आएको बाढी पहिराले काठेपुलसमेत बगाएको थियो । 

त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याब कलभर्ट निर्माण गरिएको हो । रासस

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : ४७ बजे