बैसाखी टेकेर होइन सबै मिलेर आए पनि एमालेसँग लड्न सक्दैनन् : अध्यक्ष ओली

कपिलवस्तु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैसाखी टेकेर एमालेसँग लड्न नसकिने बताउनुभएको छ । उहाँले गठबन्धनप्रति लक्षित गर्दै बैसाखी टेकेर मात्र होइन सबै मिलेर आए पनि एमालेलाई हराउन नसक्ने दाबी गर्नुभएको छ ।

नेकपा एमाले कपिलवस्तुले सोमबार आयोजना गरेको पार्टी प्रवेश तथा वृहत् जनसभामा बोल्दै अध्यक्ष ओलीले बलियो साँढे नेपाली काँग्रेसले बैसाखी टेकेर दायाँ र वाँया गरेको बताउनुभएको थियो । उहाँले एमालेले जिते मात्र राष्ट्र समृद्ध हुने दाबी गर्नुभएको छ ।

अध्यक्ष ओलीले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासले मुलुकमा परिवर्तन आउने बताउनुभएको छ । उहाँले एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने दाबी गर्नुभएको छ । 

उहाँले आफ्नो कार्यकालमा भएका विभिन्न कामहरुको चर्चा गर्नुभएको थियो । उहाँ प्रधानमन्त्री हुँदा विकासको लहर चलेको बताउँदै हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमान स्थल, देशमा तुइन विस्थापन जस्ता देश विकासको योजना आफ्नो पालामा भएको बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष विष्णु पौडेलले एमालेको खबरदारी कै कारण स्थानीय तहको निर्वाचन हुन लागेको बताउनुभएको छ । उपाध्यक्ष पौडेलले स्थानीय निर्वाचनमा एमालेलाई हराउन कसैसँग तागत नभएको दाबी समेत गर्नुभयो ।

एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधनका क्रममा ओलीको परिकल्पना अनुसार नेपालको विकास हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै एमाले सचिव टोप बहादुर रायमाझीले एमालेप्रति जनताको विश्वास बढेको बताउनुभएको थियो ।

नेकपा  एमालेमा प्रवेशपछि बोल्दै सङ्घीय सांसद वृजेश कुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको हुँदा कार्यकर्तासहित आफु एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो । अब समग्र मधेसमा एमालेले स्थानीय तहको निर्वाचन जित्ने समेत गुप्ता बताउनुभयो । गुप्तासँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्म बहादुर लाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं. १ वडाध्यक्ष सुदिप पौडेल, वडा नं. ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं. १२ का वडाध्यक्ष ओम प्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं. ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नं. ८ अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा एमालेमा प्रवेश गर्नुभएको थियो । 

सांसद गुप्ता ७ हजार कार्यकर्ता सहित पार्टीमा प्रवेश गर्नुभएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनुभयो । यसै गरी कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्ता सहित एमाले प्रवेश गर्नुभएको थियो । 

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : ४४ बजे