सुनको मूल्यमा नयाँ कीर्तिमान

२७ राेपनी जग्गा हत्याउन चिण्डीमाया तामाङ यसरी भइन् विममाया

संखुवासभा – गत २२ फागुनमा संखुवासभाको भोटखोला गाउँपालिका -४ कि विममाया तामाङको नामबाट जालसाजी गरी ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभामा उजुरी पर्‍यो । भोटखोला गाउँपालिका-४ का वडाध्यक्ष किङसाङ भोटे र मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुलीसहित सातजनाविरुद्ध जालसाजी, कीर्ते र ठगी गरेको आरोपमा उजुरी पर्‍यो ।

गत १ र २ फागुनमा स्थानीय दलबहादुर तामाङको नाममा रहेको करिब तीन करोड रुपैयाँ मुआब्जा आउने कित्ता नं.२७५ र २८० को २७ रोपनी जग्गा वडाध्यक्ष भोटे र मालपोत कार्यालयका नासु पराजुलीको  मिलेमतोमा सो जग्गा हत्याउन प्रपञ्च भएको देखिन्छ । जग्गा जालसाजी प्रकरणमा पक्राउ परेका वडाध्यक्ष भोटे मृतकको नाममा कीर्ते नागरिकताको प्रतिलिपी लिने काममा समेत संम्लग्न देखिएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार विममाया भनेर प्रस्तुत गरिएकी महिलाको अर्को पनि नागरिकता फेला परेको छ ।

जग्गा हत्याउने यस घटनाको केन्द्रमा विममाया तामाङको नाम आएको छ । को हुन् विममाया ? अहिले कहाँ के गर्दैछिन् विममाया ? विममाया र दलबहादुरबीचको सम्बन्ध के थियो ? उनलाई दलबहादुरको निकटतम हकवाला कसरी ठहर्‍याइयो ? दलबहादुरको हकवाला चिण्डीमायाको नाममा जग्गा किन नामसारी गरिएन ? जग्गा नामसारी गर्न विममायालाई कसरी हकवाला ठहर्‍याइयो ? उमेरले ६० नाघेकी, निरक्षर, आँखाको दृष्टि मधुरो भएकी र सामान्य आवाजसमेत सुन्न कठीन पर्ने गरेकी महिला दलबहादुरकी सहोदर छोरी चिण्डीमाया हुँदाहुँदै उनैलाई विममाया भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्रको प्रतिलिपि निकालियो ? यस्ता यावत् प्रश्न खडा भएका छन् । डिएसपी सुवेदीका अनुसार अदालती प्रक्रियाबाट घटनाको अनुसन्धान भइहेको बताए । जग्गा जालसाजी, कीर्ते नागरिकता काण्ड प्रकरणमा जोडिएका व्यक्तिहरूबाट थप प्रमाण जुटाउने काम भइरहेको डिएसपी सुवेदीले बताए । 

को हुन् विममाया ?

चिण्डीमाया तामाङको नामको उक्त नागरिकताको प्रमाण पत्र जग्गा प्रकरणमा विममाया भनेर प्रस्तुत भएकी महिला स्वयं भएको पाइएको छ । 

गत २२ फागुनमा विममाया तामाङको नामबाट जालसाजी गरी ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभामा उजुरी गर्ने व्यक्ति नागरिकता प्रमाण पत्रबाहेक अन्यत्र कही भेटिएको छैन । अहिलेसम्म चिण्डीमाया नै विममाया भनेर प्रचारित छन् । जन्म, विवाह, मृत्युलगायतका व्यक्तिगत घटना प्रमाणित गर्ने वडा अध्यक्षले दलबहादुर तामाङको उत्तराधिकारी चिण्डीमायालाई विममाया भनेर सिफारिस र प्रमाणित गर्नु रहस्यमय बनेको छ । अर्कोतिर सबै प्रमाणसहित सम्पूर्ण अँशियार स्वयं उपस्थित हुँदा समेत सामान्य अंशबण्डाको लिखत पारित गर्न हप्तौं  लगाउने जिल्ला मालपोत कार्यालय र कार्यालयका कर्मचारीले ३६ घण्टा भित्रै मृतकको नामको जग्गा नामसारी गर्ने काम र राजीनामा रजिष्ट्रेशन पारित गर्ने काम भएको छ । जग्गाधनी दलबहादुर तामाङ २०५८ सालमा नै मृत्यु भइसकेको, सन्ततीका रूपमा एक मात्र छोरी चिण्डीमाया भए पनि विममायालाई उत्तराधिकारी बनाई विममायाको नाममा जग्गा नामसारी गरिएको छ । 

१ फागुनमा विममायाको नाममा जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट नागरिकताको प्रमाण पत्रको प्रतिलिपि निकालियो । २ फागुनमा सोही नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा उल्लेखित विममायाको नाममा मालपोत कार्यालयबाट दलबहादुरको नाममा दर्ता कायम रहेको ६ कित्ता जग्गा नामसारी गरियो । त्यसै दिन विममायाको नाममा नामसारी भइआएका ६ कित्ता जग्गामध्ये अधिग्रहणमा परेका दुई कित्ता जग्गा कित्ता नम्बर २८० को करिब २४ रोपनी जग्गा कल्पना भोटे र ङिमा लाजुङ भोटेको संयुक्त नाममा र कित्ता नम्बर २७५ का करिब तीन रोपनी जग्गा पासाङ शेर्पाको नाममा राजीनामा रजिष्ट्रेशन गरी जग्गाको रजिष्ट्रेसन पास गराइयो ।

भोटखोला गाउँपालिका भित्र निर्माण हुन लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनाले आयोजनालाई आवश्यक जग्गा अधिग्रहण गर्न अधिग्रहणमा परेका जग्गाहरूको कित्ता नम्बर र क्षेत्रफलसहितको सूचना प्रकाशन गरेपछि यो घटनाको बिजारोपण भएको मानिन्छ । यस प्रकरणमा अहिले भोटखोला गाउँपालिका-४ का वडाध्यक्ष किङसाङ भोटे, भोटखोला वडा नम्बर ४ कै सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमा लाजुङ भोटे मालपोत कार्यालय संखुवासभा खाँदवारीका नायव सुब्बा महेन्द्र पराजुली, मकालु गाउँपालिका –४ का अनिस गुरुङ र चैनपुर नगरपालिकाका पासाङ शेर्पा अहिले प्रहरी नियन्त्रणमा छन् । 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १२ : १३ बजे