‘एउटै नाउरको सिकार गर्न २३ लाख’

२०७९ को निर्वाचन : नेकपा एमालेका विरुद्ध दक्षिणपन्थीहरूको मोर्चा

२०७९ का निर्वाचनहरूमा वामपन्थी दल र दक्षिणपन्थी दलबीच मै प्रतिस्पर्धा हुनेछ । वामपन्थी दलको नेतृत्व नेकपा एमालेले गर्नेछ भने दक्षिणपन्थी दलको नेतृत्व नेपाली काँग्रेसले । यस्तो स्थितिमा कुनै पनि सच्चा वामपन्थीहरूले दक्षिणपन्थीको जित हुने गरी त्यस्ता कुनै पनि राजनीतिक गतिविधि गर्न सक्दैनन् । यसर्थ “विभाजन र शासन गर” भन्ने दक्षिणपन्थीहरूको रणनीतिमा माधव+झलनाथ+प्रचण्ड (माझण्डे)हरू सहयोगी हुन सक्लान तर वामपन्थी जनमत विभाजित भएर दक्षिणपन्थीलाई जिताउने काम गर्ने छैनन् । बरू दक्षिणपन्थीलाई हराउने सर्तमा एक ठाउँमा उभिने छन् । अन्यथा वामपन्थी विचार र विश्वासमाथि गद्दारी हुनेछ । 

त्यसैले वामपन्थी जनमत विभाजित हुन नदिने रणनीतिका साथ उम्मेदवार छान्नेदेखि लिएर चुनावी रणनीति बनाउनुपर्छ । प्रत्येक नेता तथा कार्यकर्ताहरू किङ मेकरको भावनाबाट निर्देशित हुनुपर्छ । जसले गर्दा वामपन्थीहरूको जित जसरी सम्भव बनाउन सकिन्छ त्यसरी नै राजनीति गर्न तयार हुनुपर्छ । २०७९ ले वामपन्थीहरूको वैचारिक क्षमता र राजनीतिक सुझबुझ अनि अभ्यासको परीक्षा लिदैछ ।

जनताको बहुदलीय जनवाद (जबज) ले भन्छ, राजनीति गतिशील बनाउन विचारमा प्रगतिशील अनि व्यवहारमा पूर्ण लोकतान्त्रिक हुनुपर्छ । आज प्रगतिशील विचार र लोकतान्त्रिक व्यवहार कमजोर बनाउन जनादेश विपरीत माझण्डेहरूले दक्षिणपन्थी विचार बोक्ने राजनीतिक दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सम्मको काम गरेको हामीले देख्यौँ र भोगिरहेका छौँ । माझण्डहरूले गरेको यो खालको बेइमानी कुनै पनि कोणबाट क्षम्य छैन । माझण्डहरूको बेइमानी जनतालाई बुझाउन सकिएन भने दक्षिणपन्थी दल नेपाली काँग्रेसले राजनीतिक लाभ उठाउन सक्छ । यसर्थ दक्षिणपन्थीहरूलाई हराउने एक मात्र सर्तमा वामपन्थी जनमत विभाजित हुन दिनु हुँदैन ।

नेकपा एमालेले वामपन्थी विचारको त नेपाली काँग्रेसले दक्षिणपन्थी विचारको नेतृत्व गर्छ भनेर जनतालाई सरल भाषामा बुझाउन सकियो भने माझण्डहरूले गर्ने क्षतिलाई कम पार्न सकिनेछ । 

आज माझण्डहरूले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन बनाएर दक्षिणपन्थी राजनीति बलियो बनाउने काम गरिरहेका छन् । त्यसैले अब पनि माझण्डहरूलाई वामपन्थी ठान्नु भनेको दक्षिणपन्थी राजनीति बलियो बनाउनु हो । तर घनश्याम भुसाल अझै पनि माझण्डहरूलाई वामपन्थी ठान्ने भूल गरिरहेका छन् । त्यसैले भ्रममा परेर माझण्डहरूका पछि लागेका नेता तथा कार्यकर्ताहरूलाई वामपन्थी जनमत विभाजित हुँदा दक्षिणपन्थी दल नेपाली काँग्रेसले जित्ने सम्भावना बलियो हुन सक्ने यथार्थलाई बुझाउँदै उनीहरूलाई एमालेको नेतृत्वमा रहेको वामपन्थी राजनीतिको पक्षमा उभिन प्रेरित गर्नुपर्छ ।

माझण्डहरूले केपी ओलीको रिस गरेर एमालेका विरुद्ध जे–जस्ता राजनीति गरिरहेका छन्, त्यसले नेपाली काँग्रेसको राजनीति बलियो बनाउन खोजेको छ । अहिलेको कम्फर्टेबल सत्ता गठबन्धन त्यसको प्रमाण हो । 

ओलीभन्दा देउवालाई अग्रगामी देखेर माझण्डहरूले मार्क्सवादी चिन्तनको खिल्ली उडाएका छन् । यसर्थ विगतका घटनाहरूका बारेमा विवाद गरेर भविष्यका प्रश्नहरूको उत्तर भेट्टाउन सकिदैन् । भलै त्यसले भोलि पुनः त्यस्ता गल्ती हुनबाट हामीलाई जोगाउने छ । तर चुनावको सम्मुखमा विगतका घट्नामा चर्चा गरेर समय बरबाद गर्ने होइन । राजनीति व्यक्तिका पछि लागेर होइन विचार र व्यवहारको पछि लागेर गर्नुपर्छ । नेतृत्व फेरिन सक्छ तर विचारबाट संस्थागत भएको सामूहिक भावना अर्थात् पार्टी सधैँ गतिशील भएर अघि बढ्ने सामर्थ्य राख्छ भनेर हामीले बुझ्नुपर्छ ।

सामान्य व्यक्तिगत कुरालाई लिएर वैचारिक रूपमा गलत बाटोमा नेता तथा कार्यकर्ताहरू लाग्नु हुँदैन । त्यसमाथि आफूलाई जबजवादी भन्नेहरूले तथ्य सङ्गत तर्क नगरी भ्रममा परेर लहलहीमा लागेर माझण्डहरूको पछि लाग्न पनि सक्दैनन् । त्यसैले जबज मान्नेहरूले बौद्धिक वैचारिक बहस गरेर अन्तर्विरोधहरूलाई मित्रवत् बनाएर अघि बढ्नुपर्छ ।

माझण्डहरूले २०७४ को जनादेश विपरीत जसरी परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने काम गरे, त्यो वास्तवमा अग्रगमन थिएन । दक्षिणपन्थीगमन थियो । माझण्डहरू केपी ओलीलाई भन्दा शेरबहादुर देउवालाई नेता मानेर अघि बढ्नुका पछाडि उनीहरूमा आएको वैचारिक विचलन थियो र हो । जनमतको मानमर्दन थियो । तर पनि माझण्डहरू त्यो निर्णयमा किन र कसरी पुगे, त्यसको वस्तुनिष्ठ समीक्षा भएको छैन । चुनावको सम्मुखमा त्यो समीक्षा नभएता पनि चुनावहरूपछि फुर्सदमा समीक्षा गर्ने सामूहिक प्रतिबद्धतासहित नेकपा एमालेले जनता समक्ष जनादेश जोगाउन नसकेकोमा माफी मागेर पुनः एक पटक आफ्नो दललाई विश्वास गर्न सार्वजनिक अपिल गर्नुपर्छ । किनभने जनताले रूप पक्ष देखेका छन् तर सार पक्ष बुझ्न पाएका छैनन् । त्यसैले माझण्डहरूलाई दोषी देखाएर मात्रै पुग्दैन । जनताका हरेक प्रश्नको चित्त बुझ्दो उत्तर दिन नेकपा एमाले सक्षम हुनैपर्छ । अनि मात्र दक्षिणपन्थी विचार र राजनीतिलाई कमजोर बनाएर वामपन्थी विचार र राजनीतिलाई बलियो बनाउन सकिनेछ  ।

अझै पनि घनश्याम भुसालहरू वाम एकताको प्रस्ताव बोकेर पार्टीका बैठकमा प्रस्तुत भएका छन् । खास गरी माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादी पार्टीसँग सहकार्य गर्न केपी ओलीले पहलकदमी लिनुपर्छ भन्दैछन् । तर माझण्डहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेका भूमिकाप्रति मौन बसेर वाम एकताको प्रस्ताव गर्नु भनेको पार्टीभित्र फेरि बहुमत र अल्पमतको खेल खेलेर अस्थिरता निम्त्याउनु हो । आज वाम एकता नेतृत्व तहमा होइन कार्यकर्ता र जनताको तहमा हुनुपर्छ भनेर घनश्याम भुसाललाई बोल्न के कुराले छेकिरहेको छ ? प्रश्न उठेको छ ।

नेकपा एमालेले काँग्रेसको नेतृत्वमा बनेको दक्षिणपन्थी कम्फर्टेबल गठबन्धन अर्थात् मोर्चाको भण्डाफोर गर्दै आफ्नो सबल र असल पक्षको जगमा निर्वाचन अभियानमा होमिनुपर्छ । जनताले कस्तो उम्मेदवार खोजेका छन्, बुझ्नुपर्छ । विगतको संक्षिप्त समीक्षासहित कमीकमजोरीहरूमा जनतासँग माफी माग्दै घोषणापत्रमार्फत आफ्नो पार्टीको प्रतिबद्धता सार्वजनिक गर्नुपर्छ । राम्रो र लोकप्रिय उम्मेदवार छान्दा पार्टीप्रति इमानदार हुने व्यक्ति रोज्ने र व्यावहारिक घोषणापत्र बनाउने प्रक्रिया यथाशक्य छिटो सुरु गर्दै जनताको मन जित्नुपर्छ । जनताको सकारात्मक र रचनात्मक सहयोग लिन सकियो भने दक्षिणपन्थी मोर्चालाई सहजै पराजित गर्न सकिन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ९ : २० बजे