चीनको सबैभन्दा ठुलो सहर सांघाइमा चरणबद्ध लकडाउन गरिने

बेइजिङ । चीनको सबैभन्दा ठुलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणबद्ध लकडाउन गर्ने भएको छ ।

आजदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा लकडाउन गर्ने भएको हो ।

त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसङ्ख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख हटस्पट बनेको छ । 

चीनमा आइतबार एकै दिन कोभिडका ४ हजार ५ सय सङ्क्रमित देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा १ हजार कमी हो । 

सङ्क्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनले लाखौँ मानिस प्रभावित भएका छन् । 

 

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : २५ बजे