सांसद गुप्तासहित विभिन्न पार्टीका नेतालाई एमालेमा प्रवेश गराउन ओली कपिलवस्तु जानुहुँदै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै हुनुहुन्छ ।

एमाले लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारी अनुसार सङ्घीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिहरूलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु जान लाग्नुभएको हो।

एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावी सभाको आयोजना गरी अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने योजना बनाएको छ ।

एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले आजको चुनावी सभाले कपिलवस्तुका १० वटै स्थानीय तहमा एमालेले पकड जमाउन सक्षम भएको सन्देश दिने बताउनुभयो । 

चुनावी सभामार्फत सङ्घीय सांसद गुप्ता, प्रदेश सांसद धर्म बहादुर लाल श्रीवास्तव सहित क्षेत्र नं २ र १ बाट पाँच हजार बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमालेले जनाएको छ ।

यसअघि समाजसेवी मङ्गलप्रसाद गुप्तासहित चार हजारभन्दा बढीलाई टीका लगाएर स्वागत गर्न अध्यक्ष ओली तीन महिना पहिले कपिलवस्तु आउनुभएको थियो। 

अध्यक्ष ओलीले आज बिहान भैरहवामा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । भैरहवाको कार्यक्रम सकेर दिउँसो उहाँ तौलिहवा जानुहुनेछ । अध्यक्ष ओली तौलिहवाको कार्यक्रम सकेर साँझ फर्केर बुटवल बस्ने एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिनुभयो । 

त्यस्तै, मङ्गलवार बिहान तिलोत्तमा नगरपालिकास्थित सङ्कर नगर वनबाटिकाभित्र निर्माण भएको भ्यु टावर उद्घाटन, होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपू सैनिक तथा प्रहरी सङ्गठनको केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रम र दिउँसो लुम्बिनीमा बृहत् पार्टी प्रवेश कार्यक्रम तथा सम्बोधन कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने कार्यक्रम तय भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा जसपाबाट निर्वाचित तीन जना वडाध्यक्ष, एक दर्जन वडा सदस्यका जनप्रतिनिधिसहित ठुलो सङ्ख्यामा एमालेमा प्रवेश कार्यक्रम तय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : ११ बजे