पोखरा एयरपोर्टको चाबी आज हस्तान्तरण हुँदै

पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी आज हस्तान्तरण हुने भएको छ । 

चिनियाँ विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । विमानस्थलको काम ९३ प्रतिशत मात्रै पूरा भएको छ ।

अहिले उच्च पदस्थ विदेश मन्त्री आएको मौकामा निर्माण कम्पनीले काम नसकिँदै चाबी हस्तान्तरण गर्न लागेको हो । त्यसका लागि पोखरा विमानस्थलमा पनि कार्यक्रम आयोजना गरिएको छ ।

विदेश मन्त्री यीले काठमाडौँमै चाबी हस्तान्तरण गरेपछि भर्चुअल रूपमा पोखराबाट समेत कार्यक्रम गर्न लागिएको आयोजना प्रमुख विनेश मुननकर्मीले जानकारी दिनुभयो ।

“सिम्बोलिक रूपमा चाबी हस्तान्तरण गर्न लागिएको हो । यसपछि काम सकिएको होइन, काम निरन्तर चल्छ,’ उहाँले भन्नुभयो, “सिभिल तर्फका काम करिब पूरा भैसकेको छ । चाबी हस्तान्तरणपछि काम रोकिने भन्ने होइन ।” 

चीनको एक्जिम बैङ्कको ऋण सहयोगमा चिनियाँ कम्पनी सिएएमसीले २०७३ सालदेखि विमानस्थल निर्माण सुरु गरेको हो ।

यही १० जुलाईभित्र काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी थियो । अघिल्लो वर्ष नै सक्नुपर्ने काम कोरोनाका कारण १ वर्षपछि धकेलिएको हो । 

विमानस्थल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्न नागरिक उड्डयन मन्त्री प्रेम आले पोखरा एयरपोर्ट आउँदै हुनुहुन्छ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : १० बजे