कहिले होला
आखिर कसका लागि
हाम्रा लागि त पक्कै होइन
निश्चय नै ती कोपिलाका लागि
जो हुर्किनै छन्
बढ्नै छन्
बुझ्नै छन्
भोग्नै छन्
हो पक्कै तिनका लागि !
महाकाल
अनित्य वर्तमान
अनि निश्चित भविष्य बुझाइ
ज्ञानरूपि व्यवहार
मुस्काउँदो नियति र धैर्य आचरण बोकी
हुर्काउन समाज
फेरिनै पर्छ एक युग
हामी त हुर्किसक्यौँ
दृष्टिकोण बनाइसक्यौँ
ढुंगुरमा कता ओकल्ने विकार ।
ए बाल्खहरू
अनन्त लैजाऊ समय
इन्द्रिय जो जित्नु छ
धैर्यको विश्वास गर
मानवता जो हुर्काउनु छ
भरमा तिम्रै अडिन्छ समाज
हामी त हाम्रो खाल्डो आफै खन्दैछौँ
त्यही खाल्डोमा जम्ने पानीको हिलोमा फक्रिनु तिमी
हामी माटो बनेर साथ दिनेछौँ
तिमी जीवन बनेर सुवास छर्नू ।
(रचनाकार प्रगतिशील लेखक संघ, लुम्बिनी प्रदेशका सहसचिव हुनुहुन्छ ।)
प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार १० : ४२ बजे
प्रतिक्रिया