सुनको मूल्यमा नयाँ कीर्तिमान

‘हवलदार हुँ’ भन्दै सुनचाँदी लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ

महोत्तरी ।  प्रहरी हवलदार बताउँदै सुनचाँदी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बर्दिबासले बर्दिबास–१ घर भएका ३४ वर्षीय मनोज ठाकुरलाई शुक्रवार पक्राउ गरेको हो ।

बर्दिबासस्थित सुनचाँदी पसलहरूले बनाउन अर्डर दिएको सुनचाँदी पाथीभरा ज्वेलर्स एण्ड सप्लायर्स झापा लैजाने क्रममा प्रहरी हुँ भन्दै झन्डै १३ केजी सुनचाँदी लुटपाट गरेको ठाकुरमाथि आरोप लागेको छ ।

चैत ८ गते पाथीभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटेले हायस गाडीमा उक्त सुनचाँदी  लैजाने क्रममा मोरङको बेलबारी नगरपालिका वडा न.४ सिमसार क्षेत्रबाट प्रहरी हवलदार भएको बताउँदै सुनचाँदी बोकेको झोला लिएर ठाकुर भागेका थिए ।

“प्रहरी हवलदार ह तेरो साहुलाई प्रहरी कार्यालयमा पठाइदे भन्दै मैले बोकेको झोला नै उनले लगेका थिए”  उनले भने ।

कागजातसहित सुनचाँदी प्रहरीले नै नियन्त्रण लिएको हुनसक्ने भन्दै बेलबारी प्रहरी कार्यालय पुग्दा बल्ल चोरी भएको थाहा पाएको उनले बताए ।

कालिकोटेको बयान र जाहेरीको आधारमा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेलबारीको टोलीसमेत बर्दिबास आइपुगेको थियो ।

इलाका प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले अनुसन्धानको क्रममा ठाकुरको घरमा खानतलासी भएको थियो । खानतलासीको क्रममा उनको घरबाट १२ केजी ८८२ ग्राम सुनचाँदी बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिनुभयो।

आरोपित ठाकुरलाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरी बेलबारी प्रहरीलाई बुझाएको छ । ठाकुरलाई प्रहरी हिरासतमा नै राखेर थप अनुसन्धान गर्ने प्रक्रिया अगाडी बढाइएको बेलबारी इलाका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : ०९ बजे