‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पीर र कश्मीर फाइलमाथि बरालिएको बहस

संयोगले यति बेला नेपाल र भारत दुवै देशमा सिर्जना र कलाका दृष्टिले समीक्षा गरिन पर्ने दुई भिन्न विधाका म्युजिक भिडियो ‘पीर’ र चलचित्र ‘कश्मीर फाइल’माथि राजनीतिक अभिप्रायले बहस भइरहेको देखिन्छ । बहसमा दुवै कृतिमाथि समीक्षात्मक रूपले गरिन पर्ने वास्तविक बहस ओझेलमा परेको छ । राजनीतिक स्वार्थका कित्ताहरू नै यो बहसमा धेरै हाबी भएको देखिन्छ । सिर्जनालाई छोडेर त्यसमाथि चलिरहेका अस्वस्थ बहसमाथि जनमानसलाई दिग्भ्रमित पार्ने खालका परस्पर विरोधी बहसहरू भइरहेका छन् ।  यो प्रवृत्तिले आम मानिसले यथार्थलाई जान्न पाउने पारम्परिक सूत्रहरूलाई नै चुँडालिदिएको भान हुँदैछ । यथार्थलाई बेवास्ता गर्दै क्षणिक मिसन अन्तरगत यस्तो भइरहेको हो कि भन्ने देखिन्छ ।

सर्जकले आफ्नो सिर्जना कसरी उद्घाटित गर्छ भन्ने विषय आफैमा विवादरहित छैन । यसलाई विभिन्न ढङ्गले परिभाषित गर्ने गरेको पाइन्छ ।  सिर्जना आमजनताका लागि वा सिर्जना सर्जकका लागि भन्ने विवाद नयाँ होइन । स्रष्टालाई दायराको बन्धनमा राख्ने हो भने सिर्जना फक्रिन सक्दैन भन्ने समीक्षकहरू पनि बाक्लै भेटिन्छन् । तर, सिर्जनाले समाजमा पार्न सक्ने प्रभावप्रति बेखबर सर्जकले समाजको ऐना बन्न योग्य सिर्जना गर्न कसरी पो सक्ला र ? दृश्य प्रतिबिम्बित गर्ने ऐना पनि एउटै तल भएका हुँदैनन् । तीनमा एउटै दृश्य ढङ्ग—बेढङ्गका देखिन्छन् । त्यसैले समाजको बिम्ब हेर्न समतल दर्पण नै आवश्यक पर्छ । सवारी साधनहरूमा चालकले हेर्ने ऐना होइन, सिँगार पटारले सजिएको अनुहार हेर्ने ऐना चाहिएला । तर, यी दुवै कृतिहरूमा  बहस वितल दर्पणमा देखिएको बिम्बमाथि भइरहेको छ ।

आधुनिक समयमा सूचना प्रविधिको विकासले धेरै सहजता प्रदान गरेको भए पनि सत्यसम्म पुग्न गरिने मानवीय प्रयासलाई अल्छी बनाइदिएको छ । जस्तोसुकै व्यक्तिगत विचारले पनि समाजमा प्रभाव देखाउन थालेको छ । सकारात्मकताका बाबजुद यसले वैचारिक अराजकतालाई प्रश्रय दिइरहेको छ । सामाजिक सञ्जालमा भेलसरि आउने भावावेगात्मक अपरिपक्व अभिव्यक्तिबीच सत्य सूचना पत्ता लगाउन निक्कै गाह्रो भएको छ ।  लाग्छ, उत्तर आधुनिकता भनेको यही हो कि ? घर नामक एकात्मक र साझा चिनारी अब घर बन्न प्रयोग भएका इँटा, ढुङ्गा, माटो जस्ता अवयवहरूलाई मान्य छैन । उनीहरूलाई ढुङ्गा, माटो इत्यादि सहितको घर भन्ने नाम चाहिएको छ । बहसहरू पनि एउटा निचोडतिर भन्दा खण्ड खण्डतिर झन् विनिर्मित हुँदै जान थालेको देखिन्छ । सत्य एउटा हुने हुँदा खण्ड खण्डमा बरालिएको बहसले जानेर वा नजानेर अराजकतातिर डोर्‍याउने जोखिम बढ्दो देखिन्छ । ‘पीर’ र ‘कश्मीर फाइल’का विषयमा पनि यही भएको छ ।

‘पीर’ माओवादीले क्रान्तिका नाममा चलाएको गृहयुद्धमा संलग्न एक परिवारको व्यथामा आधारित नेपाली म्युजिक भिडियो हो भने ‘कश्मीर फाइल’ सन् १९९०मा कश्मीरका हिन्दु पण्डित समुदायमाथि त्यहाँका आतंककारीहरूबाट भएको जघन्य हत्या हिंसाको कथामा आधारित हिन्दी चलचित्र हो । ‘पीर’ नेपाली गायक प्रकाश सपुतले बनाएका हुन् भने ‘कश्मीर फाइल’ विवेक अग्निहोत्रीले निर्माण गरेका हुन् । पीरले एक दशक लामो कालखण्डमा हिंस्रक राजनीतिक आन्दोलनले छोडेका विकृत पक्षलाई इङ्गित गरेको छ भने कश्मीर फाइलले कश्मीरमा चल्दै आएको आतङ्कबाट पीडित हिन्दु पण्डितहरूमाथि भएको घटनालाई आधार बनाएको छ । 

बितेका घटनाहरूमा आधारित भएका हुनाले ती घटना किन घटित भए र त्यसको प्रभाव समाजमा किन र कस्तो पर्‍यो भन्ने विषयमा समाजशास्त्री, राजनेताका सरोकारका सार्थक विषय हुन सक्छन् तर यो प्रयास ओझेलमा परेको प्रतीत हुन्छ । यी कृतिहरूमाथि सनसनीपूर्ण नाटकीय बहस सतहमा चलिरहेको छ, जसले कथावस्तुको कारुणिक मानवीय पक्षको खिल्ली उडाउने घृष्टता गरेको छ । यसबाट सबैले शिक्षा लिनुपर्ने हो, तर त्यस्तो भइरहेको देखिँदैन ।

वि.सं २०५२ देखि सुरु भएको विद्रोह १० वर्षपछि सम्झौतामा टुङ्गियो, तर शान्ति प्रक्रियालाई समयमा नै पूरा गर्नेतर्फ नेतृत्वले सत्ताको केन्द्रमा पुग्दा पनि तदारुकता नदेखाउँदा उत्पन्न भएको घाउ नै पीरले देखाउन खोजेको हो । त्यो विद्रोहले देशको शासकीय र राजनीतिक स्वरूपमा बदलाव ल्याएको तर त्यसको स्थायित्वमाथि जटिल प्रश्नहरू अहिले पनि उठ्दै गएका छन् । साम्यवादी नारा लिएर पुँजीवादी संसदीय अभ्यासमा ओर्लिएको त्यो नेतृत्वले न क्रान्तिको सार नै बचाउन सक्यो न सच्चा लोकतान्त्रिक आचरण नै आत्मसात् गर्न सक्यो । यही अवस्थाको निराशा पीरले देखाउन खोजेको छ ।

सत्तामुखी चरित्र, गलत कार्यदिशाले गर्दा पछिल्ला वर्षहरूमा निरन्तर कमजोर हुँदै गएको त्यो विद्रोही शक्तिमा चुनाव नजिकिँदै जाँदा बजारमा आएको पीरले नकारात्मक असर पार्ला भन्ने त्रास देखियो भने त्यो शक्ति कमजोर हुँदा चुनावी फाइँदाका हक दाबी गर्नेहरू दुवै बहसमा उत्रेको देखिँदै छ । सारमा त्यस शक्तिले यो भिडियोलाई शिक्षाका रूपमा लिँदा र अरूले यसलाई एउटा सार्थक सिर्जनाका रूपमा बुझ्नु नै उपयुक्त हुने थियो ।

नेपालमा पीर माथिको बहसभन्दा भारतमा कश्मीर फाइलमाथिको बहस धेरै जटिल देखिन्छ । सन् १९४७ मा उपनिवेशबाट मुक्ति पाएर जन्मिएका भारत र पाकिस्तान दुई जुम्ल्याहा देशबीच सुरुदेखि नै वैमनस्यता चल्दै आएको छ । भारत—पाकिस्तान विभाजन पनि धर्मका आधारमा भएको थियो । काँधमा काँध मिलाएर अङ्ग्रेजी उपनिवेश विरुद्ध स्वतन्त्रता सङ्ग्राममा होमिएका हिन्दु र मुसलमान समुदायबीच विभाजनको समयमा मानवता विरोधी भयानक साम्प्रदायिक दङ्गाहरू भए । त्यो अस्वस्थ परम्परा भारतमा अहिले पनि विभिन्न बाहानमा जारी छ । सन् १९७१ मा पाकिस्तानलाई टुक्र्याएर बङ्गलादेश बनाउन भारतले सक्रिय सहयोग गरेपछि झन् चिढिएको पाकिस्तानले भारतका दुई ठुला धार्मिक सम्प्रदायबीचको अन्तर विरोधमा खेल्ने प्रयास गर्दै आयो । उसको यो प्रयासमा त्यस बेला पाकिस्तानको मित्र देश अमेरिकाको पनि हात रहेको प्रमाणहरूले देखाएका छन् । अमेरिकाको अहिले पाकिस्तानसँग कम र भारतसँग बढी मित्रता छ ।

सन् १९९० को दशकमा कश्मीरमा बहुसङ्ख्यक मुस्लिम समुदायलाई आधार बनाएर पृथकतावादी र हिन्दु विरोधी चरित्रको सशस्त्र आतङ्क सुरु भयो । त्यसै क्रममा यो डरलाग्दो घटना भएको थियो । जहाँ कश्मीरी पण्डितहरूमाथि सामूहिक नरसंहार, बलात्कार भयो । हजारौँ पीडितहरू ज्यान जोगाउनका लागि विस्थापित हुनुपर्‍यो । आजसम्म पनि तिनीहरूमाथि न्याय हुन सकेको देखिँदैन ।

विश्वका यस किसिमका धेरै दङ्गा हुने देशहरूमा भारत पनि एक हो । कश्मीरमा पण्डितहरूमाथिको कत्लेआमपछि पनि सन् १९६७ मा राँचीमा, १९६९मा गुजरातमा, १९८०मा मुरादाबादमा, सन् १९८३ मा आसामको नेलीमा र यस्ता कैयौँ ठाउँहरूमा हिन्दु—मुस्लिम दङ्गाहरू भएका छन्, जसमा हजारौँले ज्यान गुमाउनुपरेको छ । सन् १९९० अतिवादी मुस्लिमहरूद्वारा गरिएको कश्मीरका पण्डितहरूको नृशंस हत्या र आतङ्क यही क्रमिकताको एउटा हिस्सा मात्र हो । घृणित परम्परा मध्येको यो अंशलाई लिएर कश्मीर फाइल चलचित्र बनाइएको छ । निर्माता अग्निहोत्रीले चलचित्र कस्तो र कसरी बनाए भन्ने कुरा परै राखेर हेर्दा पनि यो घटना सत्य भएकोमा दुई मत छैन । निर्माताले तथ्यहरूलाई जीवन्त राख्दै यस्ता सत्य घटनालाई लिएर चलचित्र बनाउन नपाउने कुरा पनि भएन । अर्को कुनै मुसलमानमाथि भएको अत्याचारको चलचित्र बनाउन नसकिने पनि होइन । भारतमा यस्ता दर्दनाक घटनाहरूको कुनै अभाव छैन ।

सन् १९१४मा कट्टर हिन्दुवादी भारतीय जनता पार्टी सत्तामा आएपछि मुसलमान आबादीले त्रास भोग्न परेको देखिन्छ । धर्मनिरपेक्षतावादी काँग्रेस र वामपन्थीहरूको राजनीति कमजोर हुँदै जानु यसको मुख्य कारण हो भन्ने धेरैको मत देखिन्छ । भारतमा यो वैमनष्यताको उपचार गर्न राजनीति पुरै विफल देखिँदै आएको छ । भारतीय जनता पार्टी सत्तामा आएर मात्रै यस्ता दङ्गाहरू भएका होइनन् । भारत स्वतन्त्र हुनुअघि अङ्ग्रेजको समयदेखि नै यस्ता दङ्गाहरू हुँदै आएका छन् । दुई ठुला धार्मिक सम्प्रदायबीचको अन्तरविरोधलाई कम गर्नेतिर भन्दा अवस्था अनुसार सत्तामा पुग्न दुरुपयोग गर्ने प्रवृत्ति भारतीय राजनीतिमा चर्को देखिन्छ । भारत जस्तो विशाल र शक्तिशाली बन्दै गएको देशमा बाहिरका विरोधी शक्तिहरूले यो आन्तरिक अन्तर्द्वन्द्व चलखेल गर्ने डरलाग्दो जोखिम देखिन्छ ।

सत्तासीन हिन्दुवादी भाजपाका निम्ति जनमत तयार पार्न यो चलचित्र बनाइएको हो भन्ने तर्क र चलचित्रले राम्रो काम गरेको, साँचो इतिहासमा आधारित रहेको, सबैले यो हेर्नै पर्ने भन्ने उत्साहजनक तर्क पनि उत्तिकै चर्को देखिन्छ । वास्तवमा भारतको सन्दर्भमा कश्मीरका हिन्दु पण्डितहरूमाथि भएको अत्याचारको घटना आंशिक सत्य मात्र हो, पूर्ण सत्य अझै भयानक छ । यसलाई क्षणिक स्वार्थका लागि दुरुपयोग बन्द गरेर साम्प्रदायिक सद्भाव र पारस्परिकतालाई प्रवर्द्धन गर्नुको विकल्प देखिन्न ।            

 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ९ : १२ बजे