सुनको मूल्यमा नयाँ कीर्तिमान

अपहरित नाबालिका सकुशल मुक्त, अपहरणमा संलग्न पाँच पक्राउ

जनकपुर – अपहरणमा परेको २४ घण्टाभित्र धनुषा प्रहरीले आज साँझ एक नाबालिकालाई अपहरण मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चौकस्थित आफ्नै घरबाट अपहरणमा परेकी ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टिलाई आज साँझ ६ बजेतिर धनुषाको बिदेह नगरपालिका–८ बफैयबाट प्रहरीले मुक्त गराएको हो । 

    बालिकाको अपहरणमा संलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

    बिहीबार साँझ आफ्नै घर आँगनबाट अचानक नाबालिका बेपत्ता भएको भन्दै परिवारजले प्रहरीमा जानकारी गराएका थिए । सूूचना पाएलगत्तै प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले नाबालिकाको खोजी सुरु गरेको थियो । 

    त्यही क्रममा नाबालिकाका बुबाको मोबाइलमा अपहरणकारीहरूले रु १५ लाख फिरौती माग गर्दै गरेको फोनका आधारमा मोबाइल नेटवर्किङ पत्ता लगाउँदै अपहरणकारीसम्म पुग्न सफल भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । अपहरण मुक्त गराउन सफल भएकी नाबालिकाको स्वास्थ्य परीक्षणपश्चात् आजै साँझ परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

रासस

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ९ : ४७ बजे