छोरीको तारिफ गर्दै प्रचण्ड : भरतपुरलाई विदेशीले विशिष्टरुपमा हेरेको दाबी

चितवन – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल प्रशंसा गरेका छन् । भरतपुर महानगरको नयाँ प्रकासकीय भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेयरमा सकारात्मक सोच मात्रै भेटेको बताए ।

‘मैले भरतपुर महानगरपालिकाको मेयरको दिमागमा जतिबेला पनि भरतपुर महानगर र त्यो परिवारप्रति जहिले पनि सकरात्मक सोच मात्र भेटेँ’, उनले भने । कांग्रेस र एमालेका जनप्रतिनिधिले समेत गरेको सहयोग र सकारात्मक सोचका कारण महानगरको विकासले तीव्रता पाएको उनले बताए । 

भरतपुर महानगरपालिकालाई छिमेकी देशहरूले विशिष्ट महानगरको रुपमा हेरेको समेत उनले बताए । ‘हाम्रो छिमेकीदेखि टाढा–टाढाका मित्रहरुले पनि भरतपुरलाई विशिष्ट महानगरको रुपमा हेरेका छन्’, उनले भने ।  

शिलान्यास कार्यक्रममा बोल्ने केहि वक्ताले महानगरमा देखेको विकासको बारेमा पनि बोल्न हिच्किचाएको भन्दै उनले भने, ‘केहिले त यो भएन पो भन्न थाल्नुभो । बन्दै बनेन पो भन्नुभो । भनेपछि साथीहरूलाई चुनाव लागेछ । विकास लागेनछ ।’ ‘प्रचण्ड’ले पार्टीको मात्र नभएर सिंगै राष्ट्रको अध्यक्षको जिम्मेवारी आफ्नो टाउकोमा रहेको अनुभूति हुने गरेको बताए ।

 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ३ : ३३ बजे