माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

स्थानीय तह चुनावका लागि २ करोड मतपत्र छापिने

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो।

आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने बताउनुभयो ।

अन्तिम मतदाता नामावलीको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्ने उहाँको भनाइ छ। ‘विभिन्न कारणको जोखिमलाई मध्यनजर गरेर केही बढी छाप्नुपर्ने हुन्छ। त्यसैले करिब दुई करोड मतपत्र छाप्छौं’, सहायक प्रवक्ता अर्यालले भन्नुभयो ।

त्यसका लागि जनक शिक्षा सामाग्री केन्द्रसँग छलफल चलिरहेको उहाँले बताउनुभयो । ‘जनक शिक्षा सामाग्री केन्द्रसँग मतपत्र छपाई गर्नेबारे छलफल भइरहेको छ। जनक शिक्षाले छाप्न नसकेमा अर्को विकल्प पनि हुनसक्छ’ उहाँले भन्नुभयो 
आयोगले मतदाता नामावली, मतदाता परिचय पत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिकालगायतका सामग्री छपाईका लागि विभिन्न ६ वटा प्याकेजको बोलपत्र स्वीकृत गरी आपूर्तीकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको जनाएको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ५ : ५० बजे