वाइसिएल र तरुण दल त्यागेर १५० जना युवाहरु एमालेमा प्रवेश

ललितपुर । ललितपुर महानगरपालिकाबाट करिब १५० जना युवाहरु विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा (एमाले) ललितपुरद्धारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा वाइसिएल र तरुण दलका करिब १५० जना युवाहरु एमालेमा प्रवेश गरेका हुन् । विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका युवाहरुलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव लेखराज भट्टले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा एमालेका सचिव लेखराज भट्टले प्रचण्डले क्रान्तिलाई कांग्रेसजस्तो दलाल पुँजीवादको पछि पार्टी लगाएको आरोप लगाउनुभएको थियो । कार्यक्रममा नेपाल तरुण दल क्षेत्र नं ३ का अध्यक्ष समिर केसी, क्षेत्र नं २ की उपाध्यक्ष तारा सुनुवारसहित ३ दर्जन युवाहरु तरुण दलका नेता कार्यकर्ताहरु, नेकपा माओवादीका सुरेस शाहीसहित २ दर्जन युवाहरु, वाइसिएलका अञ्जन घिमिरेसहितका युवाहरु, नेपाली कांग्रेसका रमेश घिमिरेसहित २ दर्जन कार्यकर्ताहरु, समाजसेवी तारक केसीसहित ललितपुर महानगरपालिका तथा महालक्ष्मी नगरपालिका तथा गोदावरी नगरपालिकाका करिब १५० जनाको संख्यामा एमाले प्रवेश गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसबाट एमाले प्रवेश गर्नुभएका नवप्रवेशी रमेश पहरीले नेपाली कांग्रेस दलालहरुको पार्टी बनेकोले देशमा समृद्धि ल्याउन एमाले नै मुख्य शक्ति रहेकोले एमाले प्रवेश गरेको बताउनुभयो । उहाँले कांग्रेसले विकासको नाममा दलाली मात्र जानेकाले आफुले एमालेको पथ स्वीकार गरेको जानकारी दिनुभयो । नेकपा एमालेकी पोलिटब्यूरो सदस्य शुसिला नेपालले राष्ट्रनिर्माणमा एमाले लागिपरेको र सो कार्यमा सक्रिय हुने चाहनासहित एमाले प्रवेश गर्नुभएकोमा नवप्रवेशीलाई बधाई दिनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सह इञ्चार्ज हरिकृष्ण व्यञ्जनकारले टोल टोलमा एमालेको क्रेज बढ्दै गएकोले एमालेले आगामी निर्वाचनमा बहुसंख्यक स्थानमा विजयी हासिल गर्ने दावी गर्नुभयो । प्रतिनिधिसभाका सांसद तथा एमाले वागमती प्रदेश सदस्य नवराज सिलवालले नवप्रवेशीहरुले एमालेमा प्रवेश गरेपछि विकासको नयाँ उदेश्य प्राप्तिमा सफल हुने वातावरण निर्माण भएको भाव व्यक्त गर्नुभयो ।

नेकपा एमाले ललितपुरका अध्यक्ष गाउँगाउँमा नेकपा एमालेको प्रभाव बढ्दै गएकोले एमाले प्रवेश गर्नेको संख्या बढ्दै गएकोले स्थानीय स्तरमा पनि पार्टी प्रवेश कार्यक्रमहरु निरन्तर जारी रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ५ : ४८ बजे