‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

भारतसँग प्रतियुनिट ३८ रूपैयाँमा बिजुली किन्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतसँग चर्को मूल्यमा विद्युत् खरिद गर्ने भएको छ । प्राधिकरणले युक्रेन सङ्कटको कारण देखाउँदै भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली खरिद गर्ने बताएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले आज एक पत्रकार सम्मेलन मार्फत प्रतियुनिट २० भारु (अतिरिक्त खर्च समेत जोडेर रु ३८ रुपैयाँ नेपाली) मा भारतसँग बिजुली किन्ने सहमति गरेको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भारतमा ऊर्जा सङ्कट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै केही समयका लागि विद्युत् महसुल बढाएर भए पनि नियमित विद्युत् आपूर्ति गर्ने बताएका छन् । 

प्रवक्ता भट्टराईका अनुसार बिहीबार राति १२ बजेर १५ मिनेटदेखि नेपालमा भारतको बिजुली आयात हुने बताएका छन् ।

अघिल्लो वर्ष यही समयमा ८०० मेगावाट बिजुली भारतबाट आयात भएको थियो भने यस वर्ष ३५० मेगावाट मात्रै आयात भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिएका छन् । चर्को मूल्यमा भारतबाट आयात भएको बिजुली उद्योगहरूलाई दिएर बिजुलीमा कटौती नगर्ने  बताएका छन् ।

विद्युत् अभावका कारण प्राधिकरणले उद्योगहरूलाई दिने बिजुलीमा कटौती गर्दै आएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  २ : ५२ बजे