खुर्काेटमा बेलिबृज जडान सुरु

पूर्व माओवादी लडाकुको समूह एमालेमा प्रवेश गर्दै

काठमाडौं – बहिर्गमित जनमुक्ति सेना नेपालको नेतृत्वमा सामूहिक रूपमा नै युद्धकालीन माओवादी लडाकुहरू अन्ततः नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

‘युद्धकालीन अपराध र मुद्दा’लाई सम्बोधन गर्न एमाले तयार भएपछि पूर्व माओवादी लडाकुको समूह सामूहिक रूपमा नै प्रवेश गर्न लागेका हुन् ।

सम्भवतः यसै साता मिति तय भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी लडाकुहरूलाई सामूहिक रूपमा पार्टी प्रवेश गराउने छन् । ‘जनमुक्ति सेनाका योद्धाहरूको माग, गुनासा र अप्ठ्यारा सम्बोधन गर्न एमालेसँग सकारात्मक देखिएको छ । छलफलहरू सकारात्मक हुँदै गएका छन्,’ बहिर्गमित सेनाका अध्यक्ष लेनिन विष्टले भन्नुभयो, ‘त्यसैले दुवै पक्षबीच सामूहिक पार्टी प्रवेशको मिति चाँडै तोक्ने भन्ने छ ।’

उहाँका अनुसार एमाले अध्यक्ष ओलीले सामूहिक पार्टी प्रवेश कार्यक्रमका लागि सचिव टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिनुभएको छ ।

अध्यक्ष ओली र बिष्टबीच पूर्व माओवादी लडाकुका माग र मुद्दाका बारेमा तीन चरण छलफल भइसकेको र त्यसको बन्दोबस्त रायमाझीले गराउनुभएको थियो । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतसँग पनि बिष्टको टोलीले पटक पटक छलफल गरेको थियो ।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत राहत रकम दिने घोषणा गर्नुभएको थियो । बहिर्गमित लडाकुलाई ८४ करोड बजेट छुटाए पनि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । तर, गत १ फागुनमा रकम निकासा गर्न आदेश दिए पनि सरकारले त्यसलाई सम्बोधन भने गरेको छैन ।

‘राहत मात्र होइन, पूर्वजनमुक्ति सेनालाई राज्यको तर्फबाट सम्मान पत्र, परिचयपत्रको व्यवस्था पनि ओलीज्यू प्रधानमन्त्री हुँदा नै भएको हो । यसले पनि हामीलाई हाम्रा माग सम्बोधन हुनेमा आशावादी बनाएको छ,’ विष्टले भन्नुभयो । उहाँका अनुसार सामूहिक प्रवेश गर्ने पूर्वमाओवादी लडाकुहरूको नाम संकलन भइरहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  २ : ५० बजे