खुर्काेटमा बेलिबृज जडान सुरु

सम्पदा निर्माण–पुनर्निर्माणमा अवरोध होइन सहयोग गरौं : मेयर शाक्य

​​​​​​​काठमाडौं  । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले ल्याएको नीतिलाई क्रमिक रुपमा कार्यान्वयन गर्ने चरणमा अघि बढेको र त्यसमा सफलता प्राप्त भएको बताउनुभएकाे छ । वडा–२२ को कार्यालय भवन उद्घाटन गर्ने सिलसिलामा उहाँले बुधबार यस्तो बताउनु भएकाे  हाे  । 

‘हामी नीति, कार्यक्रम र बजेटको क्रमिक रुपमा कार्यान्वयन गर्ने चरणमा अघि बढेका छौं र त्यसमा हामी सफल पनि भएका छौँ,’ प्रमुख शाक्यले भन्नुभयाे , ‘कहीकतै विवाद भएका ठाउँमा हामीले गर्न सकेनौँ । जहाँ अख्तियार र अदालतले रोक्ने काम भयो त्यहाँबाहेक सबै काम सम्पन्न गर्न सफल भयौँ ।’

प्रमुख शाक्यले २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा विजयी भएर आएपछिको पहिलो बैठकबाटै महानगरको केन्द्रीय भवन र सबै वडा कार्यालय भवन बनाउने घोषणा गरेको स्मरण गराउँदै ती घोषण सबै पूरा हुँदै गएको दावी गर्नुभयाे  । ‘नगरसभाले त्यही नीतिअनुसार बजेट पनि व्यवस्थापन गरेको थियो,’ शाक्यले भन्नुभयाे , ‘महानगरपालिकाको केन्द्रीय भवन र सबै वडा कार्यालय भवन हाम्रै कार्यकालमा बनाउँछौँ भनेर हामीले सपना देखेका थियौँ । लामो समयको प्रतिक्षापछि वडा नम्बर २२ को भवनको निर्माण सम्पन्न भई आज उद्घाटन भएको छ । म धेरै खुशी छु ।’

शाक्यले मेयरले जस लिन्छ भनेर रोक्ने प्रवृत्तिका कारण समस्या भएको गुनासो पनि गर्नुृभयाे । ‘हामी सबैसँग सहकार्य गरेर सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणका काम गर्न चाहन्छौँ,’ उहाँले भन्नुभयाे , ‘म गौरवका साथ भन्छु । मेरो कार्यकालयमा सबै नीतिगत निर्णय सर्वसम्मत रुपमा भएका छन् । तर, मेयरले जस लिन्छ भनेर रोक्ने प्रवृत्तिका कारण केही ठाउँमा समस्या भएको छ ।’ उहाँले  राम्रो काममा प्रतिस्पर्धा गर्न आग्रह पनि गर्नुभयाे । ‘पेप्सी, फेण्टा, कोकोकोला व्यापारीहरूले अरुको बस्तु राम्रो भनेर कहिल्यै प्रचार गर्दैनन्,’ उनले भने, ‘हाम्रो पनि अवस्था त्यस्तै–त्यस्तै भएको छ । यो सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणको अभियान पेप्सी, फेण्टा, कोकोकोलाको व्यापार जस्तो होइन । त्यसैले राम्रा काममा अवरोध होइन सहयोग गरौँ ।’

उहाँले  काममा अवरोध होइन सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणका कामका योजना लिएर आउन आग्रह गर्नुभयाे  । ‘सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणमा कार्यपालिका र नगरसभाका सबै बैठकमा सर्वसम्तत निर्णय गरेर अघि बढेका छौँ,’ उहाँले भन्नुभयाे , ‘यद्यपि, जीर्ण बनेको दमकल भवन पुनर्निर्माण गर्ने, लगंपार्क निर्माणलगायतमा अवरोध गरेकाले रोकिएका छन् ।’ 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  २ : ४४ बजे