खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

आठौँ तनहुँ महोत्सव

तनहुँ । तनहुँको सदरमुकाम दमौली नयाँ दुलेही झैँ सिङ्गारपटार गरिएको छ । यही चैत १० देखि २० गतेसम्म हुन गइरहेको आठौँ तनहुँ महोत्सव दमौलीमा हुन लागेकाले बजार क्षेत्रलाई सिङ्गारिएको हो । 

    दमौलीको ट्राफिक चोकमा मुख्य स्वागत गेट निर्माण गर्नुकासाथै सडकका दायाँबायाँ किनारमा रङ्गरोगन गरी चिटिक्क बनाइएको छ । बजार क्षेत्रदेखि महोत्सवस्थलसम्म ध्वजापताका टाँगेर झिलिमिली र आकर्षक बनाइएको छ । 

    ‘महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ  तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाइ समितिको सहआयोजनामा उक्त महोत्सवको आयोजना गरिएको हो । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । व्यासनगरपालिका–३ विपी वनवाटिकामा आयोजित महोत्सवस्थलमा प्रदर्शनी कक्ष निर्माण र बुकिङ कार्य अन्तिम चरणमा पुगेको छ ।

    व्यासनगरपालिका–३ विपी वनवाटिकामा आयोजना हुने महोत्सवस्थलमा स्टल, स्टेज निर्माण, बुकिङ कार्य र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सङ्घका प्रथम उपाध्यक्ष एवं प्रवक्ता इमकुमार मल्लले जानकारी दिनुभयो । 

    जिल्लाको प्रवेश नाका पूर्वतर्फको आँबुखैरेनी र पश्चिमतर्फको कोत्रे क्षेत्रमा स्वागत गेट निर्माण गरिएको छ । व्यापारिक प्रयोजन र कृषि, हस्ताकला लगायतका गरी दुई सय दश स्टल निर्माण गरिएको छ । 

    ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक श्रेष्ठले बताउनुभयो ।  महोत्सव अवधिभर करिब तीन लाख दर्शकले महोत्सव अवलोकन गर्नाका साथै करिब रु ६ करोड बराबरको आर्थिक कारोबार भई रु १५ देखि २० लाखसम्म बचत गर्ने लक्ष्य राखिएको छ ।

    महोत्सवस्थलमा एकजना डा सहितको प्राथमिक उपचार स्टल एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ भने एउटा एम्बुलेन्स स्ट्यान्डबाई राखिनेछ । 

    स्थानीय स्तरमा उत्पादित कृषि, घरेलु, हस्तकला उत्पादनलाई बढ्वा दिँदै लोपोन्मुख भाषाभाषी, कलासंस्कृतिको संरक्षणमा महोत्सवले थप टेवा पुग्ने विश्वास लिइएको छ । 

    त्यसैगरी लोपोन्मुख बन्दै गएका कौडा, बालन नाच, पाउदुरे, टाकटुके, लाखे नाचलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । महोत्सवमा स्थानीय कलाकारदेखि राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको सहभागिता रहनेछ । रासस

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १२ : ०९ बजे