रामपुर नगरपालिकाको नयाँ भवनबाट सेवा सञ्चालन

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाले नयाँ भवनबाट सेवा सञ्चालन गरेको छ । 

यसअघि भवन अभावमा मालपोत तथा नापी कार्यालयको भवनबाट सेवा दिँदै आएको नगरपालिकाले आफ्नै नयाँ प्रशासनिक भवन निर्माण गरेको हो ।

नगरपालिकाबाट आफ्नै आन्तरिक स्रोतको रकम विनियोजन गरी प्रशासनिक भवन निर्माण गरिएको हो । कूल रु पाँच करोड ८७ लाख ३७ हजारको लागतमा चारतले भवन निर्माण गरिएको हो । 

सो भवन  २०७४ असार ३० गते सम्झौता भई २०७६ असार ३० मा सम्पन्न गर्नुपर्ने भए पनि रकम अभाव र कोरोना सङ्क्रमणका कारण भवन निर्माणमा ढिलाइ भएको नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिनुभयो । 

निर्माण समय थप गरी २०७८ असार ३० गते भवन निर्माण सम्पन्न भएपछि हाल यसबाटै सेवा प्रवाह भइरहेको छ । आयुर्वेद शाखा र पशु शाखाको आफ्नै भवन भएकाले सोबाहेक सबै शाखा यही ३५ कोठे भवनबाट सञ्चालन भएको छ । नयाँ भवन बनेपछि कर्मचारीलाई सेवा दिन र नागरिकलाई सेवा लिन सहज भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ८ : ३६ बजे