मन्थली विमानस्थलमा पानी पस्यो

परिणाममुखी काम गर्न निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले परिणाममुखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयद्वारा आज आयोजित मातहतका निकायसँगको बजेटसम्बन्धी छलफलमा सचिव डा बैकुण्ठ अर्यालले जतिसक्दो पर्याप्त समय लिएर योजना बनाउँदै प्रतिफल आउने गरी काम गर्न निकायका प्रमुखलाई निर्देशन दिनुभयो । “प्रस्ट योजना हुँदा हामीलाई पनि काम गर्न सजिलो हुन्छ, त्यसैले तपाईहरुले सबैभन्दा धेरै समय योजना तयारीमै लगाउनुहोस्, योजना बनाउँदा समस्याको पहिचान गर्नुहोस्, अनि मात्रै कार्यक्रम अगाडि बढाउन सजिलो हुन्छ”, सचिव अर्यालले भन्नुभयो ।

 बेरुजुसम्बन्धी विषयमा ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले आगामी आव २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयलाई सेवा प्रवाहमा उपलब्धि हुने गरी सिर्जनात्मक सोचसहित प्रस्तुत गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा विभागीय प्रमुखले चालु आर्थिक वर्षमा भइरहेको कामको प्रगति विवरण र आगामी योजनाका बारेमा सो अवसरमा आआफनो प्रस्तुति राख्नुभएको थियो ।  

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले ७५३ वटै स्थानीय तहमा राससको समाचारदाताको व्यवस्थापनको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न मन्त्रालयसँग आग्रह गर्नुभयो । नेपाल टेलिभिजनका महाप्रन्धक फूलमान बलले समावेशी कार्यक्रमलाई थप प्रभावकारी बनाउन बजेट थप गर्नुपर्नेमा जोड दिनुभयो । 
    
कार्यक्रममा गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदी, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमाललगायत मन्त्रालय अन्तर्गतका विभिन्न विभागीय प्रमुखले कार्य प्रगति र योजना प्रस्तुत गर्नुभएको थियो । रासस

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : २६ बजे