खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

राप्रपाले २५ चैत गते काठमाडौँको खुलामञ्चमा आमसभा गर्ने

काठमाडौँ । राजनीतिक दल स्थानीय तहको चुनावमा केन्द्रित छन् । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि शीर्ष नेताहरू देश दौडाहामा छन् । 

निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)पनि चुनावी दौडमा छ ।

राप्रपाले २५ चैतमा काठमाडौँको खुलामञ्चमा  चुनाव केन्द्रित आमसभा गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रूपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनुभयो ।

आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका अध्यक्ष सहसंयोजक रहेको समितिमा केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहनुभएको छ ।

समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्ष, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका भातृ सङ्गठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा, प्रदेशसभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्ष पनि छन् ।

आमसभालाई प्रभावकारी बनाउन उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। उपाध्यक्षहरू ध्रुवबहादुर प्रधान, रोशन कार्की र हेम जङ्ग गुरुङको उपस्थितिमा आइतबार मूल समितिको पहिलो तयारी बैठक बसेको थियो । 

पछिल्लो एक महिनामा अध्यक्ष लिङ्देनको देशव्यापी दौडाहा चलिरहेको छ, उहाँले फागुनबाट सुरु गर्नुभएको देशव्यापी कार्यक्रम सिन्धुलीसम्म पुग्दा ४१ वटा सभालाई सम्बोधन गरिसक्नुभएको छ । 

लिङ्देनले आइतबार मात्रै भक्तपुर, काठमाडौँ र ललितपुरमा आयोजित छुट्टाछुट्टै तीन वटा सभालाई सम्बोधन गर्नुभएको थियो

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ५७ बजे