खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

पाँचपोखरीमा प्रवेशद्वार र सूचना केन्द्र

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाका वडाध्यक्ष सहितका जनप्रतिनिधिले आफूले पाउने सेवा सुविधाबाट गाउँपालिकाको सीमा क्षेत्रमा आकर्षक प्रवेशद्वार बनाउन सहयोग छन् । 

गाउँपालिकाको पर्यटन प्रवर्द्धनका निम्ति पालिकाभित्र रहेको विभिन्न कला, संस्कृति र मौलिकतालाई झल्काउने गरी प्रवेशद्वार निर्माण गरिएको हो ।

गाउँपालिकाको आठ वडाका वडाध्यक्षलाई छुट्याइएको सवारीसाधन खरिद तथा अन्य सुविधा बापतको रु ४० लाख र पालिकाको थप रु १० लाख गरी रु ५० लाख लागतमा उक्त प्रवेशद्वार निर्माण भएको हो । 

सिन्धुपाल्चोकको पर्यटकको आकर्षण केन्द्रका रूपमा रहेको पाँचपोखरी थाङपाल गाउँपालिकाले प्रवेशद्वारसँगै पुस्तकालयसहितको सूचना केन्द्र र प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीको झल्को दिने गरी पाँच पोखरीसहितको महादेवको मूर्ति पनि स्थापना गरेको छ ।

पूर्व मन्त्री शेरबहादुर तामाङले नवनिर्मित पालिका प्रवेशद्वार, सूचना केन्द्रको शनिवार उद्घाटन तथा महादेवको मूर्ति अनावरण गर्नुभएको छ । उहाँले प्रवेशद्वार निर्माणका लागि राज्यबाट पाउने सेवा सुविधा त्याग गर्नुभएकामा सम्पूर्ण वडाध्यक्षहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । 

पालिकाको प्रवेशद्वारसँगै सूचना केन्द्रको स्थापनाले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै प्रचारप्रसारमा सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष टासी लामाले विश्वको नवौँ अग्लो स्थानमा रहेको ताल पाँच पोखरीलगायत गाउँपालिकाभित्रका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार तथा जानकारीसहितको सूचना केन्द्र स्थापनासँगै गाउँपालिकालाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यअनुरूप योजनाबद्ध ढङ्गले काम गरिरहेको जानकारी दिनुभयो । 

स्थानीयवासीको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवर्द्धन नै प्रमुख भएको जनाउँदै उहाँले उत्पादनमूलक आयआर्जनका क्षेत्रमा जोडिन पाँचपोखरीवासीलाई आग्रह गर्नुभयो ।

सोही अवसरमा गाउँपालिकाले तयार पारेको चार वर्षे प्रगति प्रतिवेदन पुस्तक विमोचन तथा पालिकाको सम्पूर्ण स्थानको सूचनासहितको नक्सासमेत सार्वजनिक गरिएको छ । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी, वडाध्यक्ष विष्णुबहादुर खड्का तथा गाउँपालिकाका कर्मचारी कुमार बस्नेतले आफ्ना भनाइ राख्नुभएको थियो ।रासस

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : ४८ बजे