माओवादी परित्याग गरी सांसद विष्ट आज एमाले प्रवेश गर्नुहुने 

काठमाडौँ । नेकपा माओवादी केन्द्र परित्याग गर्नुभएका सांसद ठम्मर बिष्ट आज नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ । 

सांसद विष्टलाई एमालेमा स्वागत गर्न एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज सुर्खेत जाँदै हुनुहुन्छ ।  वीरेन्द्रनगरमा आयोजना हुने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बिष्टलाई पार्टी प्रवेश गराउने एमालेको तयारी छ ।

बिष्टसँगै नेकपा माओवादी केन्द्रका अन्य जिल्ला स्तरीय नेताहरू पनि एमाले प्रवेश गर्ने तय भएको छ । विष्ट एमाले प्रवेश गरे लगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी  छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेशसभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । 

कर्णाली प्रदेशसभाका प्रमुख सचेतक समेत रहनुभएका सांसद विष्टले हुम्लाका गैर–सांसद र यसअघि मूर्ति चोरीको अभियोगमा जेल परेका कार्चेन लामालाई मन्त्री बनाएपछि प्रचण्डप्रति रुष्ट हुनुभएको थियो । माओवादीले एमसीसी पास गरेपछि झनै रुष्ट बन्नुभएका विष्टले अन्ततः माओवादी परित्याग गरी एमालेलाई रोज्नुभएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : १२ बजे