‘एउटै नाउरको सिकार गर्न २३ लाख’

के नाटो कमजोर बन्दैछ ?

कूटनीतिक विश्लेषकहरूले विश्वको सबैभन्दा शक्तिशाली सैन्य गठबन्धन नाटो अब कमजोर हुँदै जाने हो कि भन्ने अनुमान लगाउन सुरु गरेका थिए । अप्रत्याशित आर्थिक वृद्धि तथा त्यसको आडमा चीनको विश्वमा फैलिने महत्त्वाकाङ्क्षा र कोविद महामारीले विश्व अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई मध्यनजर गर्दै यस्तो आँकलन सुरु भएको थियो । पछिल्लो समय रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि नेटोका सदस्य देशहरूका धाकधम्की र विवशता भरिएका कतिपय परस्पर बाझिने अभिव्यक्तिहरूले पनि नेटो साँच्चै कमजोर भएको हो कि जस्तो देखिँदै पनि छ । तर, अहिले नै यो निष्कर्षमा पुगिहाल्नु हतारो हुन सक्ने सम्भावना भने उतिकै छ ।

नाटो अर्थात् ‘उत्तर अटलान्टिक सन्धि सङ्गठन’ अमेरिकाको सुरक्षा रणनीतिमा संलग्न देशहरूको साझा सैनिक गठबन्धन हो । यसको स्थापना शीतयुद्धकालमा अर्को महाशक्ति सोभियत सङ्घको सैनिक प्रतिकारका लागि समानान्तर रूपमा भएको थियो । यसको स्थापना सन् १९४९ अप्रिल ४ मा अमेरिकाको वाशिङ्गटनमा भएको थियो । यसको मुख्यालय बेल्जियमको ब्रसेल्समा छ । हाल यसका महासचिव जेम्स स्टोलनवर्ग छन् । यसको समानान्तरमा सन् १९५५मा सोभियतसंघ नेतृत्वको वार्सा प्याक्ट पनि अस्तित्वमा आयो ।

सन् १९५० देखि ५३ सम्म चलेको कोरियाली युद्धपछि भने नाटोले पूर्ण सैनिक गठबन्धनको आकार लिन पुग्यो । यसका संस्थापक सदस्यहरूमा अमेरिका, बेलायत, नेदरल्याण्ड, फ्रान्स, नर्वे, इटाली, नर्वे, क्यानडा, डेनमार्क, बेल्जियम, पोर्चुगल, आईसलैण्ड र लक्जेम्बर्ग थिए । सन् १९५२ ग्रीस र टर्की यसमा जोडिए । हाल यसमा ३० सदस्य राष्ट्रहरू छन् । फ्रान्स १९६६ मा नाटोको सैन्य कमाण्डबाट बाहिरिएको थियो भने सन् २००९मा फेरि संलग्न भयो । पश्चिम जर्मनी सन् १९५५ मा नेटोको सदस्य बनेको थियो भने स्पेन सन् १९८२ मा सदस्य बनेको थियो । माथि उल्लेख गरिएका बाहेकका नेटोका नयाँ सदस्यमा सोभियतसंघको पतनपछि र वर्सा प्याक्ट भनिने सोभियतसंघको सैन्य तथा अर्थिक गठबन्धनमा रहेका देशहरू र सन् १९९१ मा सोभियतसंघ खण्डित भएर अस्तित्वमा आएका देशहरू रहेका देशहरू छन् । नाटो सन्धिको पाँचौँ बुँदामा युरोप र उत्तर अमेरिकाका कुनै पनि एक वा एकभन्दा बढी सदस्य देशहरूमा आक्रमण भएमा त्यसलाई सबैमाथि भएको आक्रमण मानिने छ र  नेटो मार्फत संयुक्त प्रतिकार गरिने उल्लेख छ ।

सोभियतसंघको पतनपछिको एक पूर्वीय विश्वको महाशक्ति अमेरिका बन्न पुग्यो जसमा नाटोको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । शीतयुद्ध कालमा सैन्य अभ्यास बाहेक नेटोको कुनै उल्लेखनीय सैन्य कार्यवाही भएको देखिँदैन । यस्तो हुनुमा समानान्तर महाशक्ति सोभियतसंघको अस्तित्वले उत्पन्न गरेको शक्ति सन्तुलन मुख्य कारक थियो । सन् १९९२ देखि २००४ सम्म बोस्निया हर्जगोबिनामा को सैन्य कारबाही नै नाटोको पहिलो मान्न सकिन्छ । त्यसपछि सुरक्षा, आतंकवाद, प्रजातन्त्रका नाममा अमेरिकी नीति अनुरूप नै नाटो गठबन्धन क्रियाशील रहँदै आएको छ । यो गठबन्धनले सदस्यहरू मध्ये सबैभन्दा बलशाली विश्वको एक मात्र महाशक्ति अमेरिकाको विदेश नीतिलाई सामरिक हिसाबले सघाउँदै आएको देखिन्छ ।

यही मार्च २४ मा युक्रेनमाथि रुसले गरेको सैन्य आक्रमणसँगै युक्रेनको पक्षधरतालाई लिएर नाटो एक पटक फेरि चर्चामा छ । चीनको आर्थिक सफलता र सोभियतसंघको विरासतमा देखिएको सामरिक रूपमा अमेरिकापछिको दोस्रो शक्ति रुसबीच बढ्दो निकटताले अमेरिकालाई तनाव हुनु स्वाभाविक देखिन्छ । युक्रेनमा पनि यो तनावले काम गरिरहेको छ । युक्रेनमा आफ्नो प्रभाव विस्तार गर्दै रुसलाई कमजोर पार्ने अमेरिकी रणनीति विफल पार्न रुसले अन्य विकल्पहरू छोडेर गरेको बर्बर आक्रमण झनै निन्दनीय छ । शीतयुद्धकालमा अर्थिक सम्बन्धहरू पनि पक्षधरताका आधारमा हुने गरेकोले ठुलो समस्या थिएन तर त्यसपछि भने आर्थिक सम्बन्धले पक्षधरताको पर्खाललाई नाघेको छ । युक्रेन रुस युद्धमा यसको प्रभाव देखिएको छ ।

अमेरिकाले रुसमाथि नाटो गठबन्धनलाई विभाजित गर्न षड्यन्त्र गरिरहेको आरोप लगाउँदै आएको छ । नेटोका सदस्य जर्मनी र फ्रान्स अमेरिका र बेलायतझैँ रुस विरुद्ध कडा रवैयामा देखिएका छैनन् बरु मस्कोसँग युक्रेनको समस्यालाई लिएर सकेसम्म युद्ध बिराम गराउने प्रयासमा नै छन् । अमेरिकाले भनेझैँ तत्काल रुस विरुद्ध पूर्ण व्यापारिक प्रतिबन्ध लगाउने पक्षमा उनीहरू देखिँदैनन् ।  यसको मुख्य कारण उनीहरूको रुससँगको खनिज इन्धनमा निर्भरता नै हो । जर्मनीले रुससँग इन्धन आयत बन्द गर्ने हो भने देशको अर्थतन्त्र बर्बाद हुने र गरिबी बढ्ने बताइरहेको छ । युक्रेनका राष्ट्रपति जिलेनेस्कीले जर्मनीको इतिहास स्मरण गराउँदै उसको भावपूर्ण आलोचना गरेका छन् । अर्को नाटो सदस्य टर्कीले पनि अमेरिकाको अनुसरण गरेको देखिँदैन । टर्कीले पनि रुस र युक्रेनबीच मध्यस्थता गर्ने प्रयास गर्दै आएको छ । उसले रुसी र युक्रेनी विदेश मन्त्रीहरूको अनौपचारिक भए पनि आफ्नो देशमा उच्चस्तरको वार्ता गराइसकेको छ ।

नाटोका नाईकेहरूले युक्रेनलाई हरहालतमा सहयोग गर्ने विश्वास जगाएर कठिन अवस्थामा ल्याएर छोड्ने कार्य गरेका छन् । युक्रेनलाई हातहतियारले सहयोग अमेरिका जर्मनी र टर्कीले गरे तर युद्ध झन् चर्किने भयले युक्रेनले विश्वास लिए अनुसार नाटो मोर्चामा रुस विरुद्ध लड्न आएन । पोल्याण्ड, चेक गणराज्य र स्लोभानियाका प्रधानमन्त्रीहरू रेलमार्गबाट युक्रेन पुगेर जिलेनेस्कीलाई भेटेका छन् । नाटोले पूर्वी युरोपमा आफ्ना १० हजार सेना तयारी हालतमा राखेको छ । यसको अर्थ रुसले सदस्य राष्ट्रहरूमा आक्रमण गरे प्रत्याक्रमण गर्ने योजना हो ।

समग्रमा हेर्दा युक्रेन समस्यामा युद्ध लम्बिँदै जाँदा कसको भूमिका कस्तो हुने हो भन्न सकिन्न । जे भए पनि अफगानिस्तान र युक्रेनमा हालसम्म देखिएका घटनाहरूले नाटो कमजोर भएको मान्नेहरूको तर्कलाई तत्काल बल पुर्‍याएको देखिन्छ तर यो नै सत्य साबित नहुन सक्ने सम्भावनाका ढोकाहरू खुलै छन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ०९ बजे