जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज इलाम जानुहुँदै

इलाम । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली आज इलामको सूर्योदय नगरपालिका जाँदै हुनुहुन्छ । 

एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम जान लाग्नुभएको हो । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ  । 

एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ ।  

इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी हुनुभएको थियो । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो । 

खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमाले अध्यक्ष बस्नेतको दाबी छ ।“इलामको क्षेत्र नम्बर १ एमालेले जितेको क्षेत्र हो, हामी अहिले पनि यहाँको पहिलो पार्टी हौ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “को कत्रो छ भन्ने कुरा वैशाख ३० मा थाहा भइहाल्छ ।”

पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ ।  

नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिनुभयो ।  

फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजारभन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : २६ बजे