खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

बिलौना गर्न प्रचण्डलाई एमालेमा ढोका खुला, समाजवादीलाई बन्द : नेता ढकाल

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले कांग्रेसले हेला गरेर एमालेमा आएर बिलौना गर्न प्रचण्डलाई ढोका खुला रहेको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता ढकालले भन्नुभयो, ‘बिहे गरेर दिएको चेलीलाई अफ्ठयारो पर्दा तीजमा माइतमा बिलौना गाएको जस्तै उहाँलाई कांग्रेसले धेरै हेप्यो भने हाम्रै आन्दोलनमा आएर बिलौना गर्नुभयो भने पनि सहगोत्री नै हो ।’

परिस्थितिलाई आफ्नो अनुकूल बनाउन प्रचण्डले दलहरुसँग पालैपालो एकता र गठबन्धन गर्ने गरेको कुरा जगजाहेर रहेको भन्दै उनले समाजवादी अवैध पार्टी भएकाले सहकार्य नै नहुने बताउनुभयो  । 

गठबन्धनमा अफ्ठयारो पर्दा एमाले चाहिएको भए प्रचण्डलाई एमालेमा सँधैभरी ढोका खुला रहेको बताउनुभयो । ‘हामी एक्लै जित्छौँ भन्नेमा दृढ छौँ ’, उहाँले भन्नुभयो ।   

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बैध पार्टी नै भएकाले स्थानीय चुनावमा एकताका लागि प्रचण्डलाई एमालेमा ढोका खुला रहेको उनले बताए । माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) भने अवैध पार्टी भएकाले ढोका बन्द रहेको उहाँले बताउनुभयो ।

नेपालको दीर्घकालीन राजनीतिमा एमाले र कांग्रेसको दुई कित्ता मात्रै रहने उनले दाबी गरे । एकिकृत समाजवादीलाई एमालेले पार्टीको मान्यता नदिएको भन्दै उहाँले भन्नुभयो, ‘हामीहरु उहाँहरुको उमेदवार स्वीकार्दैनौँ र उहाँहरुसँग सहकार्य पनि हुँदैन ।’

फरक प्रसंगमा बोल्दै उहाँले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर स्थानीय निर्वाचन गराउनु विधिसंगत नरहेको बताउनुभयो  । निर्वाचन आयोग कुनै पार्टीको पक्षधरताबाट माथि उठ्न नसकेको भन्दै उहाँले जनप्रतिनिधिले राजिनामा दिएर मात्रै उमेदवारी दिन सक्ने व्यवस्थाको एमालेले विरोध गर्ने बताउनुभयो ।

त्यस्तै, एमालेले आगामी संघ र प्रदेशको निर्वाचनको लागि स्थानीय तहको निर्वाचनलाई परीक्षणका रुपमा लिएको उहाँले बताउनुभयो । ‘निर्वाचनको तयारीमा हामी लागेका छौँ । पार्टीका आन्तरिक रुपमा चुनावी घोषणापत्र तयार गर्ने काम पनि भइरहेको छ’, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १ : २२ बजे