खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

लुम्बिनी प्रदेशका काँग्रेस नेताहरू चुनावी गठबन्धनको विपक्षमा

बुटवल । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीन तहकै निर्वाचन गठबन्धन गरेर प्रतिस्पर्धा गर्ने बताइरहेका बेला लुम्बिनी प्रदेशका काँग्रेस नेताहरू भने गठबन्धनको विपक्षमा हुनुहुन्छ।

गठबन्धन गरेर चुनावमा जाँदा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फाइदा भए पनि काँग्रेसलाई घाटा हुने नेताहरूको तर्क छ । 

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले केन्द्रबाट गठबन्धन लादिए त्यो स्वीकार्य नहुने बताउनुभयो।

पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहनुभए पनि स्थानीय नेता कार्यकर्ता त्यसको विपक्षमा देखिएका हुन् । संस्थापन इतर समूहमा रहेका लुम्बिनी प्रदेश सभापति पुनले काँग्रेस एक्लै चुनावमा जाने बताउनुभयो ।

कार्यकर्ताको भावना पनि काँग्रेस एक्लै चुनावमा जानुपर्ने रहेकाले नेतृत्वले कार्यकर्ताको भावना बुझेर निर्णय गर्ने उहाँको विश्वास छ । “कार्यकर्ताको भावना विपरीत गठबन्धन गरिए त्यो काँग्रेसकै निम्ति दुर्भाग्य हुन्छ, हामीले केन्द्रबाट गर्ने गठबन्धनको निर्णय स्विकार्न सक्दैनौँ” पुनले भन्नुभयो । 

उहाँले गठबन्धनको निर्णय पार्टीको स्थानीय कमिटीलाई दिनुपर्ने तर्क गर्नुभयो । “कहीँ कतै आवश्यकता ठानिए स्थानीय कमिटीले निर्णय गर्न सक्ने गरी केन्द्रबाट खुला गरिनुपर्छ, आम रूपमा गठबन्धन सम्भव छैन” उहाँले भन्नुभयो ।

काँग्रेसले अहिले लुम्बिनी प्रदेशमा पालिकाहरूमा चुनाव केन्द्रित रणनीति बनाइरहेको छ । काँग्रेस नेता फणीन्द्र शर्माले गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा कार्यकर्ताको मनोभावना बुझेपछि थाहा हुने बताउनुभयो।

“काँग्रेसले गरिरहेको चुनाव केन्द्रित अभियानका क्रममा अधिकांश कार्यकर्ताको मत गठबन्धन गर्नु हुँदैन भन्ने छ, तर केहीको मत भने गठबन्धन स्थानीय आवश्यकताका आधारमा गर्नुपर्ने भन्ने छ”, उहाँले भन्नुभयो ।

निर्वाचन सम्भाव्यता अध्ययन तथा रणनीति योजना निर्माण समिति संयोजक तथा काँग्रेस रुपन्देही उपसभापति डा.अनिता शाहले निर्वाचन सम्भाव्यता अध्ययनका क्रममा अधिकांश कार्यकर्ताको मत गठबन्धनको विपक्षमा रहेको बताउनुभयो । 

तर, लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा भने स्थानीय कमिटीको निर्णयका आधारमा आगामी स्थानीय तहमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाबीच गठबन्धन गर्ने सहमति भएको छ । 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : ३६ बजे