‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

रघुगङ्गामा सामूहिक आलु खेती विस्तार

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलु खेती विस्तार गरिएको छ । 

रघुगङ्गाको वडा नं १ बेग, वडा नं  २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमङ्गलेका कृषक समूहलाई अनुदानमा बीउ, मल र प्राविधिक सहयोगमा सामूहिक आलु खेती विस्तार गरिएको छ ।

हरेक कृषक समूहले कम्तीमा २०० रोपनी जग्गामा लगाउने सम्झौतासहित पाँच ब्लक बनाएर गाउँपालिकाबाट सामूहिक आलु खेती कार्यक्रमलाई कार्यान्वयन गरिएको कृषि शाखा संयोजक सविना शर्माले जानकारी दिनुभयो । 

गाउँपालिकाको रु ३० लाख र कृषक समूहबाट रु ३० लाख बराबरको श्रमदानसहित रु ६० लाख लागत अनुमानको बजेटबाट रघुगङ्गामा आलु खेती लगाउने अभियान सञ्चालन गरिएको छ ।

सामूहिक आलु खेतीलाई प्रभावकारी बनाउन एक ब्लकमा रु १२ लाखको कार्यक्रमअन्तर्गत गाउँपालिकाको रु छ लाख र कृषक समूहको रु छ लाखसहितको योजनाअनुसार आलु ब्लक कार्यान्वयन गरिएको कृषि शाखाले जनाएको छ ।  

निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलु खेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिक रूपमा अघि बढाउन आलु ब्लक खेती विस्तार गरिएको कृषि शाखा संयोजक शर्माले बताउनुभयो । 

उक्त कार्यक्रमअन्तर्गत रघुगङ्गा–२ रिसिन चौतारीस्थित बरखर्क कृषि समूहमा आबद्ध २४ कृषकले सामूहिक रूपमा २०० रोपनी जग्गामा आलु खेती गरेका छन् । समूहमा आबद्ध सदस्यले सामूहिक रूपमा खेती लगाएका हुन् । 

गाउँमा निर्वाहमुखी खेतीमा सीमित रहेको जमिनलाई भाडामा लिएर गाउँपालिकाबाट मिनिटेलर र प्राविधिक सहयोगमा कृषक समूहको सक्रियतामा २०० रोपनी जग्गामा आलु विस्तार गरिएको बरखर्क कृषक समूहकी कोषाध्यक्ष देवी कटुवालले बताउनभयो । 

“कृषक समूहबाट ६५ रोपनीमा र समूहमा आबद्ध कृषकले व्यक्तिगत रूपमा १३५ रोपनी जग्गामा आलु लगाएका छौँ, यसले यस क्षेत्रलाई आलु पकेट क्षेत्रको रूपमा विकास गर्न सघाउने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । रासस  

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ८ : ३२ बजे