उप महासचिव रिमालको प्रश्न : पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन ? 

​​​​​​​काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पालिका अध्यक्ष वा मेयरहरूले चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन भन्दै निर्वाचन आयोगलाई  प्रश्न गर्नुभएको छ । 

सामाजिक सञ्जालमार्फत उहाँले स्थानीय चुनावमा जानुअघि पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिन नपर्ने तर्क गर्नुभएको छ । पालिका अध्यक्ष वा मेयरहरू स्थानीय तहको प्रधानमन्त्री हुनु भन्नुहुँदै उहाँले पद खाली गरेर चुनावमा जानु नपर्ने तर्क गर्नुभएको हो । 

उहाँले प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु नपर्ने तर स्थानीय तहका 'प्रधानमन्त्री' पालिका अध्यक्ष वा मेयरहरूले चाहिँ चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन? भन्दै  प्रश्न गर्नुभएको छ ।

जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु नहुने भन्नुहुँदै निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस् भन्नेबारे सचेत चाहिँ हुनुपर्छ, तर यसलाई देखाएर काम नै रोक्नु ठिक नहुने उहाँले बताउनुभयो । 

उहाँले कुनै पनि सेवा अवरुद्ध नहोस् भनेर अवधि सकिनु दुई महिनाअघि चुनाव गर्नुपर्ने कानुनी प्रावधान राख्ने, तर त्यही कानुन विपरीत पद खाली गर्ने प्रावधान आचार संहितामा किन राख्ने भन्नुहुँदै  निर्वाचन आयोगलाई प्रश्न समेत गर्नुभएको छ  । 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ८ : ०६ बजे