निर्वाचन लड्न जनप्रतिनिधिले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधान विभेदकारी : विष्णु रिजाल

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधान विभेदकारी, पूर्वाग्रही र हास्यास्पद रहेको बताउनुभएको छ ।

''के त्यो भए प्रतिनिधिसभाको निर्वाचन हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका मन्त्रीहरूले पहिल्यै राजीनामा दिनुहुन्छ रु पदमा रहेर चुनाव लड्न पाइने होइन भने चुनाव गराउन या देशमा निर्दलीय सरकार बनाउनुपर्ने भयो या त प्रधानमन्त्री–मन्त्रीहरू नहुँदा सरकारबिना नै चुनाव गराउनुपर्ने भयो”, उहाँले सामाजिक सञ्जालमार्फत प्रश्न गर्नुभएको छ ।

उहाँले अगाडि भन्नुभएको छ, “स्थानीय तहमा एमाले का जनप्रतिनिधि बढी छन् र फेरि पनि उनीहरूले नै जित्ने हुन् भन्ने नाममा यति हास्यास्पद निर्णयमा पुग्दा सामान्य तथ्यको त ख्याल हुनुपर्ने हो ।”

स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदै छ । निर्वाचन आयोगले बिहीबार आचारसंहिता प्रकाशित गर्दै आफ्नो नाममा पेस्की वा बेरुजु भएका स्थानीय तहका पदाधिकारी उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ । 

त्यस्तै, जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने, उम्मेदवारीअघि राजीनामा दिनुपर्ने व्यवस्था पनि कायम गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : ३५ बजे