प्रधानमन्त्री देउवाद्वारा फागु पूर्णिमाको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले फागु पूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै नेपालीको पहिचान बनेको बताउनुभएको छ । फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागु पूर्णिमा मनाइन्छ ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्ण रूपमा नियन्त्रण भई नसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरूलाई अवरोध नहुने गरी मर्यादित रूपमा होली पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ । 

साथै उहाँले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ७ : ४२ बजे