‘एउटै नाउरको सिकार गर्न २३ लाख’

म्याग्दीको बेनी नगरपालिका भकिम्लीमा ‘बर्थिङ सेन्टर’ बन्ने

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ । ‘वानहर्ट वल्डवाइड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा रु ४५ लाखका लागतमा उक्त केन्द्र बन्न लागेको हो ।

अत्याधुनिक  उपकरणसहितको जिल्लाकै नमूना बर्थिङ सेन्टर बनाउने योजनासहित  नगरपालिकासँग सम्झौता गरिएको बेनी–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले जानकारी दिनुभयो । “बर्थिङ सेन्टरका बनाउन बेनी नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र वानहर्ट वल्डवाईड नामक संस्थाका प्रतिनिधि उपेन्द्र चन्दबीच सम्झौता भएको छ”, उहाँले भन्नुभयो ।

भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्यचौकीका अन्य सेवा प्रभावित भइरहेका अवस्थामा नयाँ भवन बनेपछि सेवामा थप सहजता हुने जनाइएको छ । “भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा दिनुपर्ने बाध्यता थियो, अब सहज हुनेछ”, अध्यक्ष पुनले भन्नुभयो । उहाँले बर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, ‘वेटिङ’मा बस्ने र हलसहितको भवन निर्माण गरिने जानकारी दिनुभयो ।

बेनी नगरप्रमुख श्रेष्ठले सुरक्षित प्रसूति सेवाका लागि थप स्रोत साधनको कमी हुन नदिने बताउनुभयो । भकिम्लीमा प्रसूति लागि दक्ष जनशक्ति भएकाले भवन बनेपछि सहज हुने स्वास्थ्यचौकीले जनाएको छ । स्वास्थ्यचौकी जीर्ण हुँदा झरीमा छाता ओढेर उपचार गर्नुपर्ने बाध्यता छ । वनहार्ट वल्डवाइडद्वारा जिल्लामा मातृ तथा नवजात शिशुका लागि सुरक्षा सञ्जाल परियोजना सञ्चालन गरिरहेको छ । रासस

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : १४ बजे