एमाले एक्लैले ६० देखि ७० प्रतिशत जित्छ, कसैसँग एकता आवश्यक छैन : अध्यक्ष ओली

अरू पाँच दल वा सात दल मिलेर लडे पनि फरक नपर्ने

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय चुनावमा एमाले एक्लैले  ६० प्रतिशत सिट जित्ने दाबी गर्नुभएको छ । 

अखिल नेपाल महिला सङ्घको बैठकलाई मङ्गलवार काठमाडौंमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले नाम मात्रका कम्युनिष्टहरुसँग मिल्न आवश्यक नरहेको बताउनु भएको हो । ‘यी नामका कम्युनिष्ट हुन कामका होइनन्, हामी कसैसँग मिल्न आवश्यक छैन, स्थानीय निर्वाचनमा हामी ६० देखि ७० प्रतिशत एक्लै जित्छौ’, ओलीको भनाई थियो । 

उहाँले कम्युनिष्ट पार्टी ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरू कम्यिुनिष्ट हुन नसक्ने भन्दै एकता सम्भव नभएको बताउनुभयो । ‘केही स्वार्थी तत्त्व कम्युनिष्ट पार्टी सिद्ध्याउन लागे त्यस्तासँग हाम्रो एकता सम्भव छैन’ ओलीको भनाई थियो । 

उहाँले आफूहरू जनादेश लिन जनताकोमा जान लागेकोले अरू पाँच दल वा सात दल मिलेर लडे पनि फरक नपर्ने बताउनुभयो ।

नेकपा एमाले प्रतिपक्षमा हुँदा पनि  पार्टी प्रवेश गर्नेको लहर चलेको भन्दै ओलीले कम्युनिष्टको नाम मात्रको खोल ओढेकाहरू  एकता आवश्यक भनेर कार्यकर्तालाई निराश बनाउन लागि परेको  बताउनुभयो । ‘नेकपा एमालेका बारेमा कम्युनिष्ट पार्टीहरू मिल्ने कि समाप्त हुने भनेर तथाकथित बुद्धिजीवी त्यसमा कोही कम्युनिष्टको खोल ओढेका पनि हुन्छन् उनीहरूले लेख्छन् र निराश बनाइदिन्छन् । हिजो मात्रै मोहन वैद्यले स्थानीय चुनाव बहिष्कार गर्ने भन्दै थिए । किन बहिष्कार गर्ने भन्दा कहीँ पनि नजित्ने भएर । अब त्यो पार्टीसँग मिलेर चुनाव लडेन भने एमाले सिद्धिन्छ रे । एउटा बुद्धिजीवीलाई त्यस्तो लागेछ,’ओलीको भनाई थियो । 

ओलीले भन्नुभयाे, ‘माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाई ? एमालेलाई भनेको हो भने यस्तो जिस्काउने कुरा नगर्न म सबैलाई सुझाव दिन्छु । झण्डै दुईतिहाइको हैसियतमा रहेको कम्युनिष्ट पार्टीलाई फुटाउने कम्युनिष्ट हुन्छ आफ्नो पार्टीको सरकारलाई भोट नदिएर भाग्ने,अन्त गएर भोट हाल्ने । पार्टीलाई भोट हाल्न परे नहाल्ने, प्रतिक्रियावादीलाई परे पछिल्लो ढोकाबाट गएर भोट हाल्ने । यस्तालाई कम्युनिष्ट मानेर एमालेले मिलिदिनुपर्ने ?’

अध्यक्ष ओलीले देशमा दुई खाले राजनीतिक शक्ति रहेको भन्दै कम्युनिष्ट एकता भनेर गीत गाउँनु बेकारको तमासा भएको बताउनुभयो  । ‘कम्युनिष्ट पार्टी ढाल्न बाहिर गएर भोट हाल्ने, अनि दक्षिणपन्थी सरकार बनाउनेहरूलाई एमालेले कम्युनिष्ट मानेर बोक्न सकिदैन,’ ओलीको भनाई थियो । 
 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १ : ५९ बजे