महिला हिंसा विरुद्ध लड्न काठमाडौँमा दक्षिण एसियाली सम्मेलन 

काठमाडौं । महिला हिंसा विरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि एक्येवद्धता जनाउन दुई दिने दक्षिण एसियाली सम्मेलन हुँदैछ । 

काठमाडौँमा मङ्गलवारदेखि सुरु हुने उक्त सम्मेलनमा महिला हिंसाका विविध पाटोलाई उजागर गर्दै हिंसापीडितको न्यायमा पहुँच कसरी पुर्‍याउनसकिन्छ भन्नेमा जोड दिइने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

सम्मेलनमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपाङ्गता भएका महिला, यौनिक अल्पसङ्ख्यक, सीमान्तकृतलगायतका समुदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताइन् । अध्यक्ष पराजुलीले विगतको तुलनामा अहिले विश्वव्यापी रूपमा हिंसा बढ्नुका साथै तीनको स्वरूप पनि परिवर्तन भइरहेका बताउँदै अहिले डिजिटल प्रविधिको हिंसा, लिभिङ टुगेदर, मनोरञ्जन क्षेत्रमा काम गर्नेको पीडालगायतका हिंसाको सम्बोधन हुन नसकेको जनाइन् । लैङ्गिक हिसाबले भ्रूण हत्यादेखि धर्तीमा वृद्ध हजुरआमामाथि हुने हिंसालाई केलाएर सम्बोधन गरिनुपर्ने र हिंसा प्रभावितलाई न्यायमा पहुँच दिलाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको उनले बताइन् । 

यसैगरि राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले महिला हिंसा भनेको मानव अधिकारको हनन भएकाले यस्ता हिंसालाई अन्तर्राष्ट्रिय रूपमै कसरी सम्बोधन र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषय सम्मेलनमा उठाइने बताइन् । 

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ(डब्लुएनएफ) र एभ्री वुमन नामक संस्थाको संयुक्त आयोजनामा हुने सम्मेलनले महिला हिंसा अन्त्यका लागि सिडले गर्न नसकेको व्यवस्थालाई एक महिला महासन्धिमार्फत सम्बोधन गर्नका लागि सम्बन्धित देशका सरकारलाई घचघचाउने काम पनि सम्मेलनमार्फत गरिने डब्लुएनएफकी अध्यक्ष शशी अधिकारले बताइन् । 

सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतबाट महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी सहभागी हुनेछन् । लेखिका एवं गिल्ड अफ सर्भिस ट्रस्टी, भारतीय महिला अधिकारकर्मी मिरा खन्नाले पितृसत्तात्मक परम्परा हाम्रो समाजमा जहितही भएकाले पनि महिला हिंसा बढेको बताउँदै महिला हिंसा भनेको महिलाप्रतिको हिंसा मात्र नभई मानव अधिकारको उल्लङ्घन भएकाले मानव अधिकारको उल्लङ्घन गरेर कुनै पनि परिवार, समाज र देश अगाडि बढ्न नसक्ने उल्लेख गरिन् ।  

पत्रकार सम्मेलनमा एभ्री वमन संस्थाकी सीईओ लिजा स्यानोन, लैङ्गिक विशेषज्ञ एवं औरत फाउन्डेसनकी बोर्ड अफ गभर्नर सदस्य डा. अलिया खान, श्रीलङ्काकी शान्ति अधिकारकर्मी एवं द्वन्द्व प्रभावित महिला सङ्घकी संस्थापक एवं अध्यक्ष विशाका धर्मदास, पूर्व सिड कमिटी सदस्य र बङ्गलादेशकी हेल्प एज ट्रस्टी फेरडोजअरा बेगमलगायतले महिला हिंसाका विरुद्ध एक्येवद्ध भएर आवाज उठाउन सम्मेलन सहयोगी हुने बताए । 

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ५ : ३० बजे