मनसुन क्रमशः क्षीण हुँदै

अन्ततः प्रेम आले र किसान श्रेष्ठ एमालेमा फर्किदै !

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान नेकपा एमालेमै फर्किने तयारीमा रहेको खुलासा भएको छ ।

आले र श्रेष्ठले पुनः एमाले फर्किने तयारीका लागि अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता वाक्लो बनाएपछि समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले सांकेतिक सूचनासहित उहाँहरूको विरोध गर्नुभएको छ । यी दुई नेतामध्ये यसअघि प्रेम आले अध्यक्ष ओलीकै दोस्रो कार्यकालमा वन मन्त्री हुनु भएको थियो । कृष्णकुमार मन्त्री हुन नपाएपछि एमाले छाड्दै गठबन्धनमा मन्त्री बनेका हुन्।

समाजवादीमा प्रवेश गरेपछि दुवै नेताले आगामी निर्वाचन जित्न कठिन देखिएको छ। मन्त्री आलेको गृहजिल्ला डोटीमा कांग्रेसका सुदूरपश्चिम अध्यक्ष वीरबहादुर बलायर दाबेदार हुन्। आलेले अघिल्लो निर्वाचनमा बलायरलाई नै पराजित गरेका थिए।

उहाँहरूले यसअघि नै देखि एमालेमा फर्किने प्रयास गर्ने र त्यो प्रयास सम्भव नभए कांग्रेस नै प्रवेश गरेर भए पनि प्रतिनिधिसभाको अबको चुनाव जित्ने निष्कर्षमा आफ्ना गतिविधि अघि बढाएका छन् ।

यद्यपी कांग्रेस प्रवेश गरे पनि उहाँहरूले अहिले राजनीति गर्दै आएको भूगोलमा टिकट पाउने सम्भावना न्यून रहेको छ । आलेको क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता वीरबहादुर बलायरले चुनावी प्रतिस्पर्धा गर्दै आउनु भएको छ ।

त्यस्तै तनहुँमा यसअघि जित्नु भएका श्रेष्ठको क्षेत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हुनुहुन्छ। श्रेष्ठले पनि एमालेबाटै अघिल्लो निर्वाचनमा पौडेललाई हराएका थिए। त्यसैले उहाँहरु एमालेमै फर्किएर आफनो राजनीति जोगाउने अभियानमा लाग्नु भएको छ ।

मन्त्री आलेले त नेकपा एमाले निकटका व्यक्तिलाई धामाधम नियुक्ति समेत दिइरहनु भएको छ । उहाँको सल्लाहकारको भूमिकामै नेकपा एमालेका नेता चन्द्र रिजाल रहेका छन् । उहाँले अहिले गर्ने हरेक निर्णय रिजालको सुझावमा आधारित हुने गरेको छ । रिजालकै सुझावमा आलेले एमालेको पर्यटन इलाका कमिटीका नेता लिला लामालाई पर्यटन बोर्डको सदस्यमा नियुक्त गरेका थिए भने केही दिनअघि मात्र नेकपा एमालेको सर्लाही काठमाडौँ सम्पर्क मञ्चका पूर्व अध्यक्ष नारद लुइँटेलाई तारागाउँ विकास समितिको सदस्य सचिवमा नियुक्त गर्नु भएको थियो ।

सामाजिक सञ्जालमा लामो टिप्णी लेख्दै अध्यक्ष पराजुलीले एउटा पार्टीमा बसेर रातिराति अर्कै पार्टीको नेतासँग भेटघाट गर्ने कुरा गलत भएको बताउनु भएको छ । आले र श्रेष्ठको भूमिका विवादित भएको र पार्टीका लागि काम नगरेको भनेर माधवकुमार नेपालले हटाउने चर्चा पनि चलेको थियो । यस्तै चर्चाको बीचमा तनहुँबाट निर्वाचित किसान बालकोट पुगेको सुइको समाजवादीका नेताहरूले पाएका छन् ।

अनेरास्ववियूका अध्यक्ष पराजुलीले आले र श्रेष्ठले कार्यकर्ता भन्दा पनि दलालसँग सम्बन्ध सुधार गर्न लागि परेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘मन्त्री र मन्त्रालय आम जनताको हुनुपर्छ यसमा सम्बन्धित पार्टीको मन्त्री बनेमा वा भएमा मन्त्री र जनताको सम्बन्धलाई सम्बन्धित पार्टीका कार्यकर्ताले सुमधुररकसिलो बनाउनु पर्दछ ।’

अध्यक्ष पराजुली भन्नुभयो, ‘मन्त्री भए पछि माफिया दलाल भ्रष्टाचारी नै प्यारो ठान्ने मन्त्रीबाट समाजवादको जग बसाउन हम्मे हम्मे छ । मन्त्री भनेको भुडी ठुलो बनाउनु र हल्लाउनु होईन जनताको प्यारो बन्नुरहुनु हो । मन्त्रीहरुको यस्तो व्यवहारबाट हामीले सोचेको यात्रामा अवश्य पनि प्रश्न लागेको छ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : १६ बजे