मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

घिरिङको च्याचुल गाउँका घरघरमा खानेपानी

तनहुँ । जिल्लाको घिरिङ गाउँपालिका–५ स्थित दुर्गमबस्ती च्याचुल गाउँमा  सबैलाई   खानेपानीको सुविधा उपलब्ध गराइएको छ ।

समुद्री सतहबाट करिब एक हजार बढी उचाइ तथा गाउँकै  सबैभन्दा अग्लो स्थानमा रहेको उक्त गाउँको घरघरमै  खानेपानी पुगेपछि स्थानीयवासीमा खुसीयाली छाएको अलैँची खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष बुद्धिबहादुर विकले बताउनुभयो । 

तीन वर्षको प्रयासपछि एक घर एक धारा अभियानअन्तर्गत त्यसक्षेत्रका ४७ घरधुरीमा खानेपानी वितरण गरिएको उहाँले जानकारी दिनुभयोे। बस्तीभन्दा तल रहेको खोल्सीको पानी करिब ७०० मिटर उचाइमा लिफ्टिङ गरेर निर्माण गरिएको ट्याङ्कीमा पानी सङ्कलन पश्चात वितरणको व्यवस्था मिलाइएको हो । 

वषौँदेखि त्यसक्षेत्रका बासिन्दाले कुवाँको धमिलो पानी खाएर जीविकोपार्जन गर्दै आएका थिए । बस्तीदेखि करिब आधा घण्टा पैदलै डोकोमा पानी बोकेर ल्याउनुपर्ने समस्या  अब अन्त्य भएको वडाध्यक्ष प्रेमबहादुर थापाको भनाइ थियो । गाउँपालिका कार्यालयले तीन चरणमा गरी रु ९० लाख विनियोजन गर्नाका साथै  स्थानीयवासीको सक्रिय सहभागिता र सहयोगले त्यसक्षेत्रमा खानेपानी वितरण गर्न सकिएको उहाँले जानकारी दिनुभयो । 

 टोलमा खानेपानी नहुँदा एकजना खानेपानीको जोहो गर्नकै लागि खटाउनुपर्ने अवस्था रहेको स्थानीयवासीले बताए । बस्तीमा पानी पुगेपछि किसानलाई तरकारी खेतीतर्फ उन्मुख गराइएको सो वडा कार्यालयले जनाएको छ । दलित र मगर समुदायको बाहुल्यता रहेको उक्त बस्तीमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी भएका छन् । 

वडाका सबै टोलमा खानेपानी पुगे पनि पर्याप्त मात्रा पु¥याउन नसकिएको वडाध्यक्ष थापाले बताउनुभयो । उपभोक्ताले निर्माण कार्यमा निरन्तर सहयोग जुटाएका कारण योजना सम्पन्न गर्न सहज भएको गाउँपालिका कार्यालयले जनाएको छ । बस्तीभन्दा तल पानीको मुहान रहेका कारण लिफ्ट गरेर माथि चढाइ वितरण गर्नुपर्ने बाध्यता भएको हो ।
 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : ४४ बजे